९ असोज २०८३ English
English

सशस्त्र प्रहरी, प्रदेश र महानगर उच्च सतर्कतामा; जोखिमयुक्त स्थान र विद्यालयमा निगरानी

· १ मिनेट पढाइ
सशस्त्र प्रहरी, प्रदेश र महानगर उच्च सतर्कतामा; जोखिमयुक्त स्थान र विद्यालयमा निगरानी
तस्बिर: राजधानी

भारी वर्षाको पूर्वानुमानसँगै सशस्त्र प्रहरी बल, कोशी प्रदेश सरकार र काठमाडौं महानगरपालिकालगायत निकाय उच्च सतर्कतामा रहेका छन्। जल तथा मौसम विज्ञान विभागले आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै ठाउँमा धेरै भारी वर्षासम्म हुन सक्ने पूर्वानुमान गरेको छ। सशस्त्र प्रहरी बलले देशभर ६ सय ५० जोखिमयुक्त स्थानमा ११ हजार ७ सयभन्दा बढी जनशक्ति तयारी अवस्थामा राखेको जनाएको छ।

उद्धारका लागि गोताखोर, डोरीमार्फत उद्धार गर्न तालिम पाएका कर्मचारी, र्‍याफ्ट र मोटर बोटसमेत तयारीमा राखिएका छन्। कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्यले प्रदेशका सबै जिल्लाका मातहत कार्यालयलाई जोखिमयुक्त सडक र पुलको निगरानी बढाउन निर्देशन दिनुभएको छ। विराटनगर महानगरपालिका र झापाका स्थानीय तहले विद्यालय बन्द गरेका छन् भने संखुवासभाको भोटखोलामा पहिरोले खाँदबारी–किमाथांका सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

काठमाडौं महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयमा निगरानी बढाएको छ। आवश्यक परे जोखिमपूर्ण क्षेत्रका विद्यालयमा पठनपाठन रोक्ने अधिकार महानगरले शिक्षा विभागलाई दिएको छ। चितवन प्रशासनले अत्यावश्यक कामबाहेक राति लामो दूरीको यात्रा नगर्न आग्रह गरेको छ भने प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा सर्न भन्नुभएको छ।

बाँकेमा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले आठवटै पालिकालाई पूर्वतयारी र स्रोतसाधन व्यवस्थापनको निर्देशन दिइएको बताउनुभएको छ।

यो समाचार भिडियोमा

सशस्त्र प्रहरी, प्रदेश र महानगर उच्च सतर्कतामा; जोखिमयुक्त स्थान र विद्यालयमा निगरानी

स्रोत

सम्बन्धित समाचार