भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

भारत सरकारले नेपाललाई उखुका ४ उन्नत जात हस्तान्तरण गरेको छ। ती जात भारतको लखनउस्थित भारतीय उखु अनुसन्धान संस्थानले विकास गरेका हुन्। काठमाडौँमा आयोजित कार्यक्रममा भारतीय दूतावासकी प्रथम सचिव निशाले नेपाल कृषि अनुसन्धान परिषद् अर्थात् नार्कका कार्यकारी निर्देशक श्रीमत श्रेष्ठलाई बीउ सुम्पनुभएको छ।
नार्कअन्तर्गत बाराको जितपुरमा रहेको राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम र भारतीय संस्थानबीचको सहकार्यमा यी जात नेपाल ल्याइएका हुन्। उखुमा रसको क्षमता बढाउने उद्देश्यले यी जात भित्र्याइएको हो। राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमका संयोजक दिलराज यादवका अनुसार नयाँ जातमा उत्पादकत्व र चिनीको मात्रा बढी छ।
यी जातको प्रवर्द्धनले उखुको गुणस्तर, किसानको आम्दानी र चिनी मिलको उत्पादन सुधार हुने उहाँले बताउनुभएको छ। नयाँ जातमध्ये सिओएलके १६२०२ को उत्पादन क्षमता प्रतिहेक्टर करिब ९३ टन र सुक्रोजको मात्रा करिब १८ प्रतिशत छ। यो जात मध्यदेखि ढिलो अवधिमा पाक्छ र उखुको प्रमुख रोग रातो सडनप्रति प्रतिरोधी मानिएको छ।
देशमा अहिले झन्डै ५३ हजार हेक्टरमा उखु लगाइएको छ। तर औसत उत्पादन प्रतिहेक्टर करिब ५० मेट्रिक टनमा सीमित छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
