९ असोज २०८३ English
English

बैंकले अब सेयर किनेको ४५ दिनमै बेच्न पाउने

· १ मिनेट पढाइ
बैंकले अब सेयर किनेको ४५ दिनमै बेच्न पाउने
तस्बिर: क्लिकमाण्डू

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले सूचीकृत कम्पनीको सेयर र ऋणपत्र किनेपछि अनिवार्य रूपमा राख्नुपर्ने अवधि ६ महिनाबाट घटाएर ४५ दिन कायम गरेको छ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले 'क', 'ख' र 'ग' वर्गका संस्थाका लागि जारी एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै नयाँ परिपत्र जारी गरेको हो। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यो परिपत्र जारी भएको छ।

अर्थ मन्त्रालयले ल्याएको २१ बुँदे पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३ मा यो व्यवस्था गर्ने घोषणा गरिएको थियो। अब बैंकहरूले सरकारी सुरक्षणपत्र, राष्ट्र बैंक ऋणपत्र तथा सेयर र डिबेन्चरमा लगानीसम्बन्धी नीति तथा कार्यविधि सञ्चालक समितिबाट स्वीकृत गराउनुपर्नेछ। अल्पकालीन सट्टेबाजीको जोखिम घटाउने गरी यो कार्यविधि बनाउनुपर्नेछ।

कार्यविधिमा लगानीको उद्देश्य र रणनीति, लगानी गर्न मिल्ने उपकरण तथा स्वीकार्य र अस्वीकार्य लगानी स्पष्ट खुलाउनुपर्नेछ। लगानीलाई बैंकिङ बुक र ट्रेडिङ बुकमा छुट्याउने व्यवस्था पनि यसमा हुनुपर्नेछ। ट्रेडिङ रणनीति, जोखिम बहन क्षमता, लगानीको सीमा तथा नाफा सुरक्षित गर्ने र घाटा सीमित गर्ने प्रबन्ध पनि नीतिमा समेट्नुपर्नेछ।

यसैबीच राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि वाणिज्य बैंकले राख्नुपर्ने काउन्टर साइक्लिकल बफर शून्य प्रतिशत तोकेको छ। अघिल्लो आर्थिक वर्षमा पनि यो बफर शून्य प्रतिशत नै थियो।

यो समाचार भिडियोमा

बैंकले अब सेयर किनेको ४५ दिनमै बेच्न पाउने

स्रोत

सम्बन्धित समाचार