राप्रपाले असोज २१ गते सातै प्रदेशको अधिवेशन एकैदिन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी असोज २१ गते सातवटै प्रदेशको अधिवेशन एकैदिन गर्ने भएको छ। पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार स्थानीय तह र जिल्ला तहको अधिवेशनपछि प्रदेश अधिवेशनको तयारी सुरु भएको हो। हालसम्म ७२ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ।
भदौ मसान्तभित्र जिल्ला अधिवेशन सक्ने कार्यतालिका बनाइए पनि भदौ १० को बाढीले तालिका प्रभावित भएको उहाँको भनाइ छ। बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलाई असोज १५ गतेसम्म अधिवेशन गर्न समय दिइएको छ। अधिवेशन गर्न बाँकी जुम्ला र धनकुटालाई पनि सोही अवधिभित्र सक्ने अवसर दिइएको छ।
केन्द्रीय निर्वाचन समितिले सातै प्रदेशमा केन्द्रीय निर्वाचन प्रतिनिधि खटाएको छ। कोशीमा भरत पाठक, मधेशमा राजाराम श्रेष्ठ, बागमतीमा प्रा.डा. जयन्तनाथ खनाल, गण्डकीमा अमृत पुडासैनी, लुम्बिनीमा तोरणबहादुर गुरुङ, कर्णालीमा रमानन्द न्यौपाने र सुदूरपश्चिममा श्यामबहादुर शाहीलाई जिम्मेवारी दिइएको छ।
केन्द्रीय महाधिवेशन प्रतिनिधि सक्रिय सदस्यमध्येबाट समानुपातिक समावेशिताका आधारमा छनौट हुने व्यवस्था छ। राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा हुनेछ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


