सुत्केरी बिदा छ महिना पुर्याउने प्रस्तावमाथि संसद्मा छलफल

सुत्केरी बिदा छ महिना पुर्याउनुपर्ने मागसहित संसद्मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ। महिला, कानुन र विकास मञ्चले काठमाडौंमा आइतबार आयोजना गरेको सुरक्षित मातृत्व अधिकारसम्बन्धी छलफल कार्यक्रममा प्रस्तावक सांसद सीता थपलियाले उक्त प्रस्ताव सबै सुत्केरी आमालाई लाभ पुर्याउने उद्देश्यले ल्याइएको बताउनुभएको छ। गिट्टी कुट्ने आमादेखि सरकारी जागिरेसम्म सबै सुत्केरी महिलालाई यसले समेट्ने उहाँको भनाइ छ।
प्रस्ताव हचुवाको भरमा नभई लामो बहस र अनुसन्धानपछि तयार पारिएको उहाँले स्पष्ट पार्नुभएको छ। विषयको गम्भीरता अनुसार संसद्मा धारणा मात्र राखेर तत्काल केही नहुने देखेपछि प्रस्ताव बनाएर दर्ता गराएको उहाँले उल्लेख गर्नुभएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.
तोसिमा कार्की प्रस्तावप्रति सकारात्मक रहेको उहाँको भनाइ छ। कार्यक्रमका सहभागीले संविधानको धारा ३८ को उपधारा दुईमा प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक मौलिक हकका रूपमा व्यवस्था गरिएको स्मरण गराएका छन्। यही संवैधानिक व्यवस्थालाई आधार बनाएर प्रस्ताव दर्ता गरिएको सांसदहरूले बताउनुभएको छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


