विद्यालय पाठ्यक्रम परिमार्जनको तयारी, एआई र जलवायु विषय समेटिने

शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जन गर्ने तयारी गरेको छ। परिमार्जनका क्रममा नैतिक शिक्षा, संस्कार, कृत्रिम बौद्धिकता अर्थात् एआई, कोडिङ, जलवायु परिवर्तन तथा सिप र उद्यमशीलताजस्ता विषयलाई प्राथमिकता दिनुपर्ने सुझाव सरोकारवालाबाट प्राप्त भएको छ। सूचना प्रविधिको तीव्र विकासलाई ध्यानमा राख्दै एआई र कोडिङसम्बन्धी ज्ञानलाई विद्यालय शिक्षासँग जोड्नुपर्ने विषय प्राथमिकताका साथ उठेको छ।
जलवायु परिवर्तनसँग अनुकूलन गर्न आवश्यक ज्ञान तथा सिप, विपत्जन्य घटना र विपत् व्यवस्थापनसम्बन्धी विषय पाठ्यक्रममा प्रभावकारी रूपमा समेट्नुपर्ने सुझाव आएको पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीले बताउनुभएको छ। सुझाव सङ्कलनका लागि सातै प्रदेशका करिब ४६ केन्द्रमा कार्यक्रम सञ्चालन गरिएको थियो। सरोकारवालाबाट प्राप्त सुझावसँगै विज्ञहरूले तयार पारेका झन्डै १२ थिमेटिक पेपरलाई समेत परिमार्जनको आधार बनाइने केन्द्रले जनाएको छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


