एमाले पुनर्गठन विवाद: ज्ञवालीको तेस्रो प्रतिवेदन, आज कार्यदल र सचिवालय बैठक

नेकपा एमालेको पार्टी पुनर्गठन विवाद आइतबार बस्ने कार्यदल र केन्द्रीय सचिवालय बैठकमा पुगेको छ। अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा नेता प्रदीप ज्ञवालीले २९ पृष्ठको तेस्रो प्रतिवेदन तयार पारेका छन्। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार असोज ४ गते बिहान ९ बजे च्यासलस्थित पार्टी कार्यालयमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक र दिउँसो १ बजे केन्द्रीय सचिवालय बैठक बस्नेछ।
त्यसपछि सोमबारदेखि तीन दिन चल्नेगरी ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा केन्द्रीय कमिटी बैठक बस्ने तय भएको छ। उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठित कार्यदलभित्रै बादल र महासचिव शंकर पोखरेलका अलगअलग प्रतिवेदन बनेपछि विवाद सुरु भएको थियो। पोखरेलको प्रतिवेदनमा चुनावी हारको जिम्मेवारी लिँदै ओलीले मार्गप्रशस्त गर्नुपर्ने सुझाव समेटिएको थियो।
ज्ञवालीको प्रतिवेदनले नेतृत्व परिवर्तनसम्बन्धी अंश हटाउँदै फागुन २१ को निर्वाचन पराजय व्यक्ति विशेषका कारण मात्र नभएको निष्कर्ष निकालेको छ। एमाले पराजित भए पनि समाप्त नभएको र वैचारिक–राजनीतिक प्रशिक्षण, सांगठनिक सुधार तथा एकताबद्ध प्रयत्नबाट पार्टी पुनःस्थापित गर्न सकिने प्रतिवेदनमा उल्लेख छ। पार्टी सुदृढ बनाउन प्रतिवेदनले ३९ बुँदे कार्ययोजना अघि सारेको छ।
कार्यदलमा नरहेका नेताले लेखेको भन्दै पुनर्गठन पक्षधर सदस्यहरूले यो प्रतिवेदन अस्वीकार गर्ने जनाएका छन्।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


