‘केपी ओली ढलेको छैन, मैदानमै छ’ भन्दै अध्यक्ष ओलीको जवाफ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ढलाउने प्रयास भइरहे पनि आफू राजनीतिक मैदानमै रहेको बताउनुभएको छ। संविधान दिवसका अवसरमा शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महाभारतको प्रसंग जोड्दै आफ्नो अडान स्पष्ट पार्नुभएको हो। ‘भीष्म पितामह शरशय्यामाथि ढल्या थिए, केपी ओली ढलेको छैन, खडै छ।
फेरि पनि मैदानमा छ,’ उहाँले भन्नुभयो। ओलीले आफूले तरबार होइन, कलम लिएर युद्धको मैदानमा रहेको बताउँदै अमरसिंह थापा पनि आफ्नै उमेरमा युद्धको मैदानमा रहेको स्मरण गर्नुभयो। आफ्नो राजनीतिक जीवनमा एउटा होइन, १० वटा महाभारत लडेर यहाँसम्म आइपुगेको उहाँको भनाइ छ।
आफूलाई ढलाउने कोशिस धेरै पटक भएको र आफू त्यसबाट अनभिज्ञ नरहेको उहाँले बताउनुभयो। सञ्चारमाध्यममा पार्टी फुटाउने र अमुक व्यक्ति अध्यक्ष बन्ने प्रचार भइरहे पनि त्यस्ता प्रयास सफल नहुने उहाँको दाबी छ। विरोधीले खुट्टा ताने पनि एमालेलाई केही फरक नपर्ने उहाँको टिप्पणी थियो।
एमाले नेता तथा कार्यकर्तालाई जनताका बीचमा गएर जनतालाई सचेत बनाउँदै अघि बढ्न उहाँले आग्रह गर्नुभयो। केन्द्रीय कमिटीको बैठकबाट पार्टीले के गर्छ भन्ने संकल्पसहित अघि बढ्ने उहाँले बताउनुभएको छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


