कांग्रेसको संशोधित विधान पारित: केन्द्रीय समिति २९७ सदस्यीय, वरिष्ठ उपसभापतिसहित पद थपिए

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रले केन्द्रीय कार्यसमितिलाई २९७ सदस्यीय बनाउने गरी संशोधित विधान पारित गरेको छ। सोमबार खुलामञ्चमा बसेको बन्दसत्रमा महामन्त्री प्रदीप पौडेलले संशोधन प्रस्ताव पेस गर्नुभएको थियो। यसअघि कांग्रेसको केन्द्रीय समिति १६७ सदस्यीय थियो।
महाधिवेशन प्रतिनिधिको सङ्ख्या ७७ सय पुगेकाले समितिको आकार बढाइएको महामन्त्री पौडेलले बताउनुभएको छ। प्रवक्ता देवराज चालिसेका अनुसार नयाँ संरचनामा एक सभापति, एक वरिष्ठ उपसभापति र चार उपसभापति रहनेछन्। वरिष्ठ उपसभापति पद नयाँ थपिएको हो भने उपसभापतिको सङ्ख्या दुईबाट चार पुगेको छ।
चार उपसभापतिमध्ये एक र तीन महामन्त्रीमध्ये एक पदमा महिला अनिवार्य गरिएको छ। सहमहामन्त्री ८ बाट बढाएर १५ जना पुर्याइएको छ, जसमध्ये ११ जना निर्वाचित हुनेछन् र ४ जना सभापतिले मनोनीत गर्नेछन्। केन्द्रीय सदस्यमा खुलातर्फ ४५ र महिला खुलातर्फ १५ सिट छुट्याइएको छ।
प्रत्येक प्रदेशबाट एक महिलासहित चार र काठमाडौँ उपत्यकाबाट एक महिलासहित दुई जना रहनेछन्। दलिततर्फ १४, आदिवासी जनजातितर्फ २०, खस आर्यतर्फ १८ र मधेसीतर्फ १३ सिट तोकिएको छ। ३५ वर्षमुनिका २१ युवालाई केन्द्रीय समितिमा अनिवार्य स्थान दिने व्यवस्था पनि छ।
सभापतिले ६६ जना केन्द्रीय सदस्य मनोनीत गर्नेछन्। पदाधिकारी र सदस्यका लागि उम्मेदवार मनोनयन मङ्गलबार बिहान १० बजेदेखि हुने कार्यक्रम छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


