थापाको प्रस्ताव: उम्मेदवार स्थानीय सदस्यले छान्ने, मतका आधारमा दललाई राज्य कोष, १७ बुँदे आचारसंहिता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचनमा पार्टीको उम्मेदवार काठमाडौँबाट नभई सम्बन्धित क्षेत्रकै सदस्यले छान्ने व्यवस्था प्रस्ताव गर्नुभएको छ। सोमबार महाधिवेशनको बन्दसत्रमा बोल्दै उहाँले पार्टी सभापतिलाई पनि महाधिवेशनले नभई सबै सदस्यले चुन्ने प्रणाली हुनुपर्ने बताउनुभएको छ। कार्यसमितिका निर्णयलाई सदस्यले अनुमोदन गर्ने व्यवस्था चाहिने र महाधिवेशनपछि सबैको सदस्यता अद्यावधिक गर्नुपर्ने उहाँको भनाइ छ।
आगामी स्थानीय तह निर्वाचनमा ७५३ मध्ये १०० स्थानीय तहको प्रमुख वा अध्यक्षमा महिलालाई उम्मेदवार बनाउने सङ्कल्प पनि थापाले गर्नुभएको छ। उम्मेदवार चयनका लागि केन्द्रीय कार्यालयमा इलेक्सन ब्युरो बनाइने र नेतृत्व एकेडेमीको कोर्स पूरा गरेकाले मात्र उम्मेदवारी पाउने उहाँले बताउनुभएको छ। उहाँले पेस गर्नुभएको 'राष्ट्रिय पुनर्जागरण र समुन्नति' शीर्षकको राजनीतिक प्रस्तावमा चुनावमा पाएको मतका आधारमा दलहरूलाई राज्यकोषबाट आर्थिक सहयोग दिने प्रस्ताव छ।
यो सहयोग कडा वित्तीय अनुशासन र अनिवार्य सार्वजनिक लेखापरीक्षणसँग जोडिने उल्लेख छ। प्रस्तावमा संवैधानिक नियुक्तिमा दुई वर्षको 'कुलिङ अफ' अवधि राख्ने र दलगत निकटता वा पारिवारिक सम्बन्धका आधारमा नियुक्ति नगर्ने प्रतिबद्धता छ। भ्रष्टाचारको आरोप लागेका आफ्नै पक्षलाई राजनीतिक संरक्षण नदिने बुँदा पनि छ।
थापाले जनतामा असन्तुष्टि बढिरहेकाले जुनसुकै बेला जनउभार आउन सक्ने चेतावनी दिनुभएको छ। बन्दसत्रमा उपसभापति विश्वप्रकाश शर्माले समसामयिक, महामन्त्री प्रदीप पौडेलले साङ्गठनिक र कोषाध्यक्ष उमेश श्रेष्ठले आर्थिक प्रतिवेदन पेस गर्नुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


