ओलम्पियन संगिना वैद्य राखेपको तालिम विभागकी पहिलो महिला निर्देशक

राष्ट्रिय खेलकुद परिषद्, राखेपले ओलम्पियन तेक्वान्दो खेलाडी संगिना वैद्यलाई तालिम तथा प्रशिक्षण विभागको निर्देशक पदमा नियुक्त गरेको छ। परिषद्ले बिहीबार उहाँलाई नियुक्तिपत्र हस्तान्तरण गरेको छ। यससँगै वैद्य राखेपको करिब ६ दशक लामो इतिहासमा निर्देशक बन्ने पहिलो महिला हुनुभएको छ।
उहाँ सन् २००४ मा ग्रिसको एथेन्समा भएको ओलम्पिकमा छनोट चरण पार गरेर सहभागी हुने पहिलो नेपाली खेलाडी हुनुहुन्छ। एसियाली स्तरको प्रतियोगितामा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी पनि उहाँ नै हुनुहुन्छ। सन् १९९६ मा अस्ट्रेलियाको मेलबर्नमा आयोजित एसियाली तेक्वान्दो च्याम्पियनसिपमा उहाँले स्वर्ण पदक जित्नुभएको थियो।
वैद्यले सन् १९९९ मा काठमाडौँमा भएको आठौँ र सन् २००४ मा पाकिस्तानमा भएको नवौँ दक्षिण एसियाली खेलकुदमा पनि स्वर्ण पदक जित्नुभएको थियो। नियुक्तिअघि उहाँ राखेपमै तेक्वान्दो प्रशिक्षकका रूपमा काम गर्दै हुनुहुन्थ्यो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

