९ असोज २०८३ English
English

एन्फा मुख्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा

· १ मिनेट पढाइ
एन्फा मुख्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा
तस्बिर: अनलाइनखबर

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, सीआईबीको टोलीले शुक्रबार ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ, एन्फाको मुख्यालयमा छापा मारी अनुसन्धानका लागि चाहिने कागजात आफ्नो नियन्त्रणमा लिएको छ। सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले अनियमितताको आशङ्कामा उक्त कारबाही गरिएको बताउनुभएको छ। एन्फाविरुद्ध आर्थिक अनियमितताको विषयमा उजुरी परेपछि अनुसन्धान सुरु गरिएको र थप छानबिन जारी रहेको ब्यूरोले जनाएको छ।

छापाका क्रममा सीआईबीले एन्फाका पदाधिकारीलाई केरकार पनि गरेको छ। यसअघि राष्ट्रिय खेलकुद परिषद्, राखेपले एन्फाको आर्थिक पक्ष छानबिन गर्न दुईपटक उपसमिति गठन गरेको थियो। ती उपसमितिले एन्फामा खरिद ऐन उल्लङ्घन भएको, माग गरिएका कागजात नदिइएको र ठोस निष्कर्षमा पुग्न नसकिएको प्रतिवेदन बुझाएका थिए।

राखेपले गत चैत ११ गते एन्फाको निर्वाचित कार्यसमिति निलम्बन गरेको थियो। तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय फुटबल महासंघ, फिफाले पनि निलम्बन गरेपछि नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिताबाट वञ्चित छ। एन्फाको खाता पनि रोक्का छ।

एन्फा महासचिवलगायत पदाधिकारीले बिहीबार पत्रकार सम्मेलन गरी कर्मचारीदेखि खेलाडीसम्मको तलब रोकिएको बताउनुभएको थियो। सरकारले चाँडो स्पष्ट जवाफ नदिए सोमबारदेखि फिफाको मार्गनिर्देशनअनुसार गतिविधि सुरु गर्ने घोषणा पनि उहाँहरूले गर्नुभएको छ।

स्रोत

सम्बन्धित समाचार