एनपीएल तयारी: बंगलादेशका अकबर अली कर्णाली याक्समा

कर्णाली याक्सले नेपाल प्रिमियर लिग, एनपीएलको तेस्रो संस्करणका लागि बंगलादेशी क्रिकेट खेलाडी अकबर अलीलाई अनुबन्ध गरेको छ। टोलीले सामाजिक सञ्जालमार्फत अनुबन्धको जानकारी सार्वजनिक गरेको छ। सन् २०२० मा बंगलादेशले पहिलोपटक जितेको आइसीसी अन्डर–१९ विश्वकपमा अलीले टोलीको कप्तानी गर्नुभएको थियो।
दक्षिण अफ्रिकामा भएको उक्त प्रतियोगिताको फाइनलमा बंगलादेशले भारतलाई पराजित गरेको थियो। सो खेलमा अविजित रहँदै अली प्लेयर अफ द म्याच घोषित हुनुभएको थियो। यता, एनपीएलको दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सले शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई यस वर्षको एनपीएलमा पनि आफ्नो होम डेभलपमेन्ट बैंक पार्टनर बनाएको छ।
टोलीका म्यानेजर लक्ष्मणदेव आचार्य र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरुले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ। आचार्यका अनुसार लुम्बिनीमै स्थापना भएको यो बैंक प्रदेशको एक्लो राष्ट्रियस्तरको विकास बैंक भएकाले साझेदारका रूपमा छानिएको हो। यो सहकार्यले खेलाडीमा लगानी गर्न सजिलो बनाउने र टोलीको मनोबल बढाएको उहाँको भनाइ छ।
क्रिकेटको विकास र खेलाडीलाई प्रोत्साहन गर्न प्रदेशको टोलीसँग सहकार्य गरिएको पनेरुले बताउनुभएको छ। बैंकका प्रमुख ब्रान्ड अधिकृत प्रभास राईले यो साझेदारीले प्रदेशको ब्रान्डिङ र पर्यटन प्रवर्द्धनमा पनि सघाउने विश्वास व्यक्त गर्नुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

