पहिरोले चामे–बेँसीसहर सडक अवरुद्ध, मनाङको आवागमन ठप्प
हिमाली जिल्ला मनाङ जोड्ने मुख्य मार्ग चामे–बेँसीसहर सडकमा पहिरो खसेपछि सवारीसाधनको आवतजावत पूरै रोकिएको छ। नासो गाउँपालिका–३ खोत्रोमा बुधबार ठूलो चट्टानसहित पहिरो खसेको थियो। सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार सडकको बीचमै खसेको विशाल चट्टान सामान्य उपकरणले पन्छाउन नसकिँदा दिनभरको प्रयास सफल हुन सकेको छैन।
अब चट्टान फुटाउन नेपाली सेनासहित सुरक्षाकर्मीको मद्दतमा विस्फोटक प्रयोग गर्ने तयारी भइरहेको उनले बताएका छन्। डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका इन्जिनियर नवीन विष्टका अनुसार ड्रिलिङ गरेर मार्ग खुलाउने काम जारी छ भने सडकका अन्य स्थानमा खसेका पहिरो पन्छाइसकिएको छ। जिल्ला समन्वय समितिका उपप्रमुख सुरेन्द्र गुरुङसहितको टोली पनि मार्ग खुलाउन खटिएको छ।
सडक अवरुद्ध हुँदा यात्रु तथा पदयात्रामा निस्किएका पर्यटक बाटोमै अलपत्र परेका छन्। गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङले पर्यटक बढी मारमा परेको भन्दै सडक तत्काल सञ्चालनमा ल्याउनुपर्ने माग गरेका छन्। जल तथा मौसम विज्ञान विभागले गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा वा हिमपात तथा पहाडी भू-भागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना औँल्याएको छ।
विभागका अनुसार गण्डकी प्रदेशको पहाडी भू-भागका १-२ स्थानमा भारी वर्षा पनि हुन सक्छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


