राजविराज सुत्केरी प्रकरण: अनुगमन प्रतिवेदन मन्त्रालयमा, दोषीमाथि कारबाही हुने
सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल, राजविराजमा प्रसवका लागि पुगेकी महिलाले अस्पतालबाहिरै बच्चा जन्माउनुपरेको घटनामा स्वास्थ्यकर्मीमाथि कारबाही प्रक्रिया अघि बढेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बुधबार राष्ट्रिय सभामा सांसद श्रीकृष्णप्रसाद अधिकारीको प्रश्नको जवाफ दिँदै यस्तो जानकारी दिनुभएको छ। उहाँका अनुसार छानबिन प्रतिवेदनले आचारसंहिता उल्लङ्घन गरेको देखाएका चिकित्सक, नर्स र प्रशासनिक कर्मचारीलाई कारबाहीका लागि सम्बन्धित काउन्सिलमा पठाइएको छ।
नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार एवं छानबिन समितिका संयोजक डाक्टर सुप्रभात श्रेष्ठले प्रतिवेदन स्वास्थ्य सचिव डाक्टर विकास देवकोटालाई बुझाएका छन्। समितिले भदौ २५ देखि २७ गतेसम्म अस्पतालमा स्थलगत अनुगमन गर्दै सम्बन्धित स्वास्थ्यकर्मी र अस्पताल प्रशासनको भूमिका केलाएको थियो। मन्त्री मेहताका अनुसार अस्पतालको जनशक्ति व्यवस्थापन पनि कमजोर पाइएको छ।
अस्पतालमा ८० वटा अस्थायी दरबन्दी थप्ने प्रस्तावमा अर्थ मन्त्रालयको सहमति मिलिसकेको र प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको उहाँले बताउनुभएको छ। राष्ट्रिय सभा सदस्य रेणु चन्दले पनि महिलालाई सडकमा बच्चा जन्माउन बाध्य पारिएको विषयमा सरकारले जवाफ दिनुपर्ने माग गर्नुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


