अर्थमन्त्री वाग्ले आजदेखि तीनदिने भारत भ्रमणमा
अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले ३ दिने औपचारिक भारत भ्रमणका लागि बिहीबार नयाँदिल्ली प्रस्थान गर्नुहुने भएको छ। भारत सरकारको निमन्त्रणामा हुन लागेको यो भ्रमण बुधबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। उहाँले अर्थ तथा परराष्ट्र मन्त्रालयका अधिकारी रहेको ६ सदस्यीय टोलीको नेतृत्व गर्नुहुनेछ।
अर्थ मन्त्रालयका अनुसार विपद्पछिको पुनर्निर्माणसहित नेपाल–भारतबीच आर्थिक, राजनीतिक र कूटनीतिक क्षेत्रमा सहकार्य विस्तार गर्नु भ्रमणको प्रमुख लक्ष्य रहेको छ। तालिकाअनुसार अर्थमन्त्री वाग्लेले बिहीबार साँझ ५ बजे आफ्नी भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। शुक्रबार उहाँको भारतीय विदेशमन्त्री डाक्टर एस जयशंकरसँग भेटवार्ता तय भएको छ।
सोही दिन भारतका पूर्वविदेशसचिव श्याम शरणको आयोजनामा हुने उच्चस्तरीय कूटनीतिक संवादमा उहाँ प्रमुख अतिथि रहनुहुनेछ। शुक्रबार नै भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफ आयोजक रहेको बृहत् भेटघाटमा पनि उहाँ सहभागी हुनुहुनेछ। शनिबार बिहान भारतीय उद्योग परिसंघले आयोजना गर्ने कार्यक्रममा पनि अर्थमन्त्री वाग्लेको सहभागिता तय भएको छ।
भ्रमणका क्रममा उहाँ व्यावसायिक छलफलका साथै प्राज्ञिक कार्यक्रममा पनि सहभागी हुनुहुनेछ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


