बाढीपछिको पुनर्निर्माणमा सघाउने जापानको प्रतिबद्धता, प्रधानमन्त्री शाहसँग राजदूतको भेट
जापानले बाढीपछि नेपालमा हुने पुनर्निर्माण र पुनर्स्थापनामा साथ दिने वाचा गरेको छ। नेपालका लागि जापानी राजदूत मेइदा तोरुले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेट गर्दै यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भेटमा राजदूत तोरुले बाढी प्रभावित नागरिकप्रति समवेदना प्रकट गर्दै विपद्को कठिन घडीमा जापान नेपालसँग ऐक्यबद्ध रहेको बताउनुभएको छ।
प्रधानमन्त्री शाहले जापानी प्रधानमन्त्री सानाए ताकाइची तथा परराष्ट्रमन्त्री तोशिमित्सु मोतेगीले रसुवाका बाढी प्रभावितप्रति देखाएको सद्भाव र समवेदनाप्रति आभार जनाउनुभएको छ। उहाँले जाइकामार्फत प्राप्त राहत सामग्री तथा अनुदान सहयोगप्रति पनि धन्यवाद दिनुभएको छ। जापानलाई नेपालको महत्त्वपूर्ण विकास साझेदारका रूपमा उल्लेख गर्दै उहाँले विपद्पछिको पुनर्निर्माण तथा पुनर्स्थापनामा पनि जापानी सहयोगको अपेक्षा राख्नुभएको छ।
राजदूत तोरुले नेपाल बाढीलगायतका विपद्को उच्च जोखिममा रहेको पनि उल्लेख गर्नुभएको छ। भेटमा प्रभावित क्षेत्रको पछिल्लो अवस्था र नेपाल–जापान सम्बन्धका विविध आयामबारे पनि छलफल भएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


