बाढी प्रभावितका लागि त्रिविको ९ करोड २५ लाखसहित विभिन्न संस्थाको आर्थिक सहयोग
भोटेकोशी बाढी प्रभावितका लागि त्रिभुवन विश्वविद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ९ करोड २५ लाख रुपैयाँ जम्मा गरेको छ। बुधबार उपकुलपति प्राध्यापक डाक्टर भोला थापाले मन्त्रालयमा पुगेर शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई चेक बुझाउनुभएको छ। विश्वविद्यालयका अनुसार यो रकम पदाधिकारी, शिक्षक तथा कर्मचारीको तलब र भत्ताबाट कट्टा गरेर जुटाइएको छ।
उपकुलपति, रेक्टर र रजिस्ट्रारले १ महिनाको पूरै तलब दिनुभएको छ भने प्राध्यापक र सोसरहका कर्मचारीले सुरु तलब स्केलको १० दिन बराबर रकम योगदान गरेका छन्। उपप्राध्यापक र शाखा अधिकृतस्तरबाट ७ दिन, कार्यालय सहायक तहबाट ५ दिन तथा श्रेणीविहीन कर्मचारीबाट २ दिन बराबरको पारिश्रमिक कट्टा गरिएको छ। यसैबीच एनसेल आजियाटाका कर्मचारीले सामूहिक रूपमा ३३ लाख ५० हजार रुपैयाँ सोही कोषमा जम्मा गरेका छन्।
सूचना तथा सञ्चारमन्त्री डाक्टर विक्रम तिमिल्सिनाको उपस्थितिमा उक्त रकमको रसिद हस्तान्तरण गरिएको छ। एनसेलले यसअघि संस्थागत रूपमा १ करोड रुपैयाँ सहयोग गरिसकेको छ। त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीले १५ लाख ७४ हजार रुपैयाँभन्दा बढीको चेक ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई बुझाएका छन्।
मन्त्री श्रेष्ठले विपद्का बेला पूर्वकर्मचारीले देखाएको ऐक्यबद्धताप्रति आभार व्यक्त गर्नुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


