जुम्लामा हिउँमा फसेका ६ गोठाला सम्पर्कमा, उद्धार टोली पाटनतर्फ

जुम्लाको पाटन क्षेत्रमा बाक्लो हिमपातका कारण सम्पर्कविहीन बनेका चन्दननाथ नगरपालिका–८ का ६ जना भेडा गोठाला सम्पर्कमा आएका छन्। तातोपानी गाउँपालिका–४ को गिडीदह नजिकैको गैरीगुम पाटनमा बिहीबार रातिदेखि लगातार हिउँ परेपछि उनीहरू सम्पर्कविहीन भएका थिए। उनीहरूले शुक्रबार अपराह्न घरमा फोन गरेर आफूहरू एउटै धतौरामा आश्रय लिएर सुरक्षित रहेको बताएका छन्।
गोठाला बिर्ख धरालाले दाजु भैरव धरालालाई गरेको फोनमा साथमा रहेका करिब पाँच सय भेडाको अवस्था अझै अज्ञात रहेको बताएका छन्। थप हिउँ परे जोखिम बढ्ने र चिसो पनि चर्किँदै गएकाले छिटो उद्धार गर्न गोठालाहरूले आफन्तमार्फत आग्रह गरेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाले उद्धारका लागि टोली पाटनतर्फ पठाएको छ।
सात सुरक्षाकर्मी र एक नगर प्रहरी रहेको आठ सदस्यीय टोलीको नेतृत्व प्रहरी सहायक निरीक्षक कालीबहादुर महतले गर्नुभएको छ। गोठालाका दुई जना आफन्त पनि टोलीसँगै गएका छन्। टोली शुक्रबार राति फुलचौंल्या धर्मशालामा बसेर शनिबार बिहान गोठाला रहेको क्षेत्रतर्फ अघि बढ्ने जनाइएको छ।
गत जेठमा भेडा लिएर पाटन पुगेका गोठालाहरूको घर फर्कने योजना हिमपातका कारण रोकिएको हो।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


