बाढीले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

लगातारको वर्षाले बढेको ठाडाखोलाको बाढी र लेदोका कारण बागलुङ जिल्लामा पर्ने मध्यपहाडी लोकमार्गमा सवारी आवागमन ठप्प भएको छ। निसीखोला गाउँपालिका–४ मा पर्ने उक्त खोलाले सडकमा क्षति पुर्याएपछि शुक्रबार साँझदेखि यातायात बन्द भएको हो। निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्य घर्तीमगरले सानोखोलाबाट आएको बाढीले लोकमार्ग क्षतिग्रस्त भएपछि आवागमन रोकिएको बताउनुभएको छ।
मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय र सडक डिभिजन कार्यालय बागलुङसँग मिलेर लेदो पन्छाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभएको छ। तर निरन्तर पानी परिरहँदा सडक तत्काल खुलाउन सम्भव नभएको अध्यक्ष घर्तीमगरको भनाइ छ। जल तथा मौसम विज्ञान विभागले शुक्रबार साँझ जारी गरेको पूर्वानुमानअनुसार शनिबार पनि गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। विभागको उक्त पूर्वानुमानमा पोखरामा वर्षाको सम्भावना ९० प्रतिशत देखाइएको छ। विभागका अनुसार देशभर मनसुनी र पश्चिमी वायुको प्रभाव छ भने भारतको छत्तिसगढ र उत्तर महाराष्ट्र आसपास बलियो न्यून चापीय प्रणाली रहेको छ।
उक्त प्रणाली उत्तर-उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने विभागको अनुमान छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


