सुकुम्बासी र भूमिहीनलाई लालपुर्जा वितरण छिटो गर्न मन्त्री रावलको निर्देशन

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरणको काम तीव्र बनाउन निर्देशन दिनुभएको छ। झापाको भद्रपुरस्थित जिल्ला प्रशासन कार्यालयमा जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारी, जिल्लाका १५ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र भूमि शाखाका कर्मचारीसँगको अन्तरक्रियामा उहाँले हालसम्मको प्रगति सन्तोषजनक नभएको बताउनुभएको छ। हजारौँ भूमिहीनले पुर्जा पाइसक्नुपर्ने भए पनि अपेक्षित उपलब्धि नदेखिएको उहाँको भनाइ छ।
सरकारले अध्यादेशमार्फत नीतिगत सुधार गरिसकेकाले अब प्रक्रियाको बहानामा ढिलाइ गर्न नहुने र कानुनी अप्ठ्यारो देखिए सहजीकरण गरिने मन्त्री रावलले बताउनुभएको छ। सोमबार कनकाई नगरपालिकाको सुरुङ्गामा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई भेटेर उहाँले सरकारले आश्वासन होइन, लालपुर्जा नै दिने बताउनुभएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल र नगरप्रमुख राजेन्द्र पोखरेलको उपस्थितिमा उहाँले कनकाई क्षेत्रका बासिन्दालाई केही समयभित्रै लालपुर्जा दिइने विश्वास दिलाउनुभएको छ।
सुकुम्बासी र लालपुर्जाको विषयलाई चुनावी एजेन्डा बन्न नदिने गरी सरकारले काम थालेको मन्त्री रावलको भनाइ छ। प्रधानमन्त्रीले धनीपुर्जाको समस्या समाधान गर्न १ हजार दिनको समयसीमा तोके पनि त्योभन्दा अगावै काम सक्ने तयारी भइरहेको उहाँले बताउनुभएको छ। आवश्यक परे कानुन फेरि परिमार्जन गर्न पनि सरकार तयार रहेको उहाँको भनाइ छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
