भोटेकोशी बाढीपीडितका लागि जुटेको रकम खर्च हुन बाँकी, नगद सहायताबारे छलफल

भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापना र पुनर्निर्माणका लागि देश-विदेशबाट जुटेको सहयोग रकमको ठूलो हिस्सा सरकारी खातामै रहेको छ। अर्थ मन्त्रालयका अनुसार हालसम्म करिब १८ अर्ब ९ करोड रुपैयाँ सहयोग जम्मा भएको छ। तीमध्ये करिब १ अर्ब रुपैयाँ मात्र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको र त्यसबाट झन्डै ३७ करोड रुपैयाँ खर्च भएको सरकारी तथ्याङ्क छ।
प्रभावित रसुवा, नुवाकोट र धादिङका स्थानीय तहले करिब १६ करोड रुपैयाँ पाएका छन्। प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार उद्धारमा खटिएका नेपाली सेनालाई करिब ९ करोड, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई करिब ६ करोड रुपैयाँका दरले दिइएको छ। जिल्ला विपद् व्यवस्थापन कोषलाई पनि रकम उपलब्ध गराइएको उहाँले बताउनुभएको छ।
प्राधिकरण र गृह मन्त्रालयका अधिकारीले भोटेकोशी र बुढीगण्डकीलगायतका विपद् प्रभावितलाई नगद सहायता दिनेबारे राष्ट्रसंघीय निकाय, आइएफआरसी, रेडक्रस र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग छलफल गरेका छन्। बैठकको अध्यक्षता गर्दै प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सहायता सरकारसँग समन्वय गरेर सरकारकै हिस्साका रूपमा पुर्याउन आग्रह गर्नुभएको छ।
गृह मन्त्रालयको विपद् नीति समन्वय तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखाका प्रमुख विश्वराज न्यौपानेले प्राधिकरणसँग समन्वय गरी विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ र बसोबास तथा जीविकोपार्जनका लागि नगद दिनेसम्बन्धी मन्त्रिपरिषद्को निर्णयअनुसार वितरण गर्न आग्रह गर्नुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

