९ असोज २०८३ English
English

संविधानका नाममा ध्रुवीकरण नगरौँ, देउवा पक्षलाई १६ गतेसम्म मनाउने प्रयास: गगन थापा

· १ मिनेट पढाइ
संविधानका नाममा ध्रुवीकरण नगरौँ, देउवा पक्षलाई १६ गतेसम्म मनाउने प्रयास: गगन थापा
तस्बिर: नेपाल प्रेस

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधानका नाममा ध्रुवीकरण गर्न नहुने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि सहकार्य आवश्यक रहेको बताउनुभएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गर्ने शक्तिहरूको एकताको कुरा उठाइरहेका बेला थापाले यस्तो धारणा राख्नुभएको हो। आफ्नो सदस्यता रहेको काठमाडौं–३० को कांग्रेस वडा कार्यालयमा शनिबार उहाँले संविधानका आधारभूत पक्ष जोगाउँदै अनुभवले देखाएका कमजोरी सुधार्न संशोधन गर्नुपर्ने बताउनुभएको छ।

संविधानको अल्पविराम र पूर्णविराम पनि फेर्न नहुने अडान ठीक नभएको उहाँको तर्क छ। परिपक्व ढंगले संशोधन अघि बढाउन अन्य दलसँगको संवादको नेतृत्व कांग्रेसले लिने उहाँको भनाइ छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षलाई महाधिवेशन प्रक्रियामा ल्याउन असोज १६ गते बिहानसम्म प्रयास जारी राख्ने थापाले बताउनुभएको छ।

महाधिवेशन तोकिएकै समयमा गर्ने तयारी भए पनि पार्टी एकताका लागि आफू अधिकतम लचिलो हुन तयार रहेको उहाँको भनाइ छ। यसअघि २९ गतेको भेलाताका शेखर कोइराला, शशांक कोइराला र पूर्णबहादुर खड्कासँग भेटेर सहमतिको प्रयास गरेको उहाँले जानकारी दिनुभएको छ। आफूलाई अनुकूल अवस्था भएकाले चाहेको भए अधिवेशन धेरै पहिल्यै सम्पन्न गर्न सकिने तर सहमतिका लागि निरन्तर लागिरहेको उहाँले बताउनुभएको छ।

देउवालाई असोज १६ गते सुरु हुने महाधिवेशनको उद्घाटनमा प्रमुख अतिथि बनाउने कोसिस भइरहेको पनि उहाँले बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार