१० असोज २०८३ English
English

कांग्रेसको क्षेत्रीय अधिवेशन आज धेरैजसो निर्वाचन क्षेत्रमा, वर्षाका कारण कतै तालिका फेरियो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कांग्रेसको क्षेत्रीय अधिवेशन आज धेरैजसो निर्वाचन क्षेत्रमा, वर्षाका कारण कतै तालिका फेरियो

YouTube मा सब्स्क्राइब

नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज देशभरका अधिकांश सङ्घीय र प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन भइरहेको छ। पछिल्ला दुई दिनको अत्यधिक वर्षा र थप वर्षाको पूर्वानुमानका कारण पार्टीको केन्द्रीय निर्वाचन समितिले असोज १३ गतेभित्र सुविधाअनुसार अधिवेशन सक्न सकिने विकल्प दिएको छ। त्यसपछि बाटो अवरुद्ध भएका केही पहाडी जिल्लाका निर्वाचन क्षेत्रले आइतबार र सोमबार अधिवेशन गर्ने गरी तालिका संशोधन गरेका छन्।

मौसम सुध्रिएकाले अधिकांश ठाउँमा आजै अधिवेशन सम्पन्न हुने समितिका सदस्य सचिव राजु कटुवालले बताउनुभएको छ। मधेश प्रदेशलगायतका केही जिल्लामा वडा अधिवेशन नै ढिलो सकिएकाले पनि क्षेत्रीय अधिवेशन असोज १३ सम्म धकेलिएको हो। प्रत्येक सङ्घीय निर्वाचन क्षेत्रबाट ३३ जना महाधिवेशन प्रतिनिधि र १२ जना महासमिति सदस्य चयन हुनेछन्।

क्षेत्रीय कार्यसमितिमा सभापति र सचिव एक–एक जना तथा एक महिलासहित दुई सहसचिव निर्वाचित हुनेछन्। प्रदेशसभा क्षेत्रीय अधिवेशनले प्रदेश कार्यसमिति र समावेशी आधारमा प्रदेश प्रतिनिधि चुन्नेछ। यसपटक पालिका सभापति र प्रदेशसभा क्षेत्रीय सभापति पनि महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ।

असोज ३ गते वडा अधिवेशनबाट सुरु भएको शृङ्खलामा वडा र पालिका अधिवेशन सकिइसकेका छन्। क्षेत्रीय अधिवेशन ढिलो भए महाधिवेशन उद्घाटन असोज १८ गते गर्नुपर्ने अवस्था आउन सक्ने कटुवालले बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार