९ असोज २०८३ English
English

कांग्रेसको वडा अधिवेशन ३५ जिल्लामा सुरु, मोरङ–६ मा रोकियो

· १ मिनेट पढाइ
कांग्रेसको वडा अधिवेशन ३५ जिल्लामा सुरु, मोरङ–६ मा रोकियो
तस्बिर: सेतोपाटी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन शनिबारदेखि सुरु भएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार पहिलो दिन करिब ३५ जिल्लामा र आइतबार करिब ३९ जिल्लामा अधिवेशन हुँदैछ। भोटेकोशी बाढी प्रभावित धादिङमा सोमबार तथा नुवाकोट र रसुवामा असोज ७ गते बुधबार वडा अधिवेशन हुने कटुवालले जानकारी दिनुभएको छ।

गत पुस मसान्तसम्म सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्य वडा अधिवेशनमा सहभागी हुन पाउने समितिका संयोजक प्रेमबहादुर खड्काले बताउनुभएको छ। अधिवेशनले वडा सभापति, एक महिलासहित दुई उपसभापति, सचिव, सहसचिव, सदस्य र क्षेत्रीय प्रतिनिधि चयन गर्नेछ। सभापति गगन थापाले आफ्नो क्रियाशील सदस्यता रहेको काठमाडौं महानगरपालिकाकै वडामा पुगेर अधिवेशनमा भाग लिनुभएको छ।

पूर्वसभापति शेरबहादुर देउवा पक्ष यो प्रक्रियामा सहभागी छैन र मंसिरमा छुट्टै महाधिवेशन गर्ने तयारीमा छ। मोरङ क्षेत्र नम्बर ६ मा भने केन्द्रबाट अद्यावधिक क्रियाशील सदस्य नामावली नआउँदा शनिबार वडा अधिवेशन सुरु हुन सकेको छैन। अधिवेशनको जिम्मेवारी पाएका कांग्रेस नेता चुमनारायण तबदारले केन्द्रबाट अन्तिम नामावली नआएसम्म प्रक्रिया अघि बढाउन नसकिने बताउनुभएको छ।

यस विषयमा केन्द्रीय सहमहामन्त्री डाक्टर डिला संग्रौलाले आफू अहिले पनि पार्टी नेताहरूसँग संवादमै रहेको बताउनुभएको छ। केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुनेछ।

स्रोत

सम्बन्धित समाचार