बाढीले भत्काएको कास्कीको बिरेठाँटी सडक मर्मत, गाडी चल्न थाले
मोदी खोलाको बाढीले भत्काएको कास्कीको अन्नपूर्ण गाउँपालिका–८ स्थित बिरेठाँटीको सडक मर्मत गरिएपछि त्यहाँ फेरि सवारी साधन चल्न थालेका छन्। गत साउन २८ गते आएको बाढीले त्यहाँ करिब १०० मिटर पक्की सडक बगाएको थियो। त्यसपछि गाउँपालिकाका वडा नम्बर ८, ९, १० र ११, अर्थात् साविकका दाङसिङ र घान्द्रुक गाविस, मुख्य राजमार्ग र गाउँपालिका केन्द्रसँगको सडक सम्पर्क गुमाएका थिए।
बिरेठाँटी यी चार वडालाई जोड्ने प्रमुख नाका भएकाले मर्मतपछि त्यहाँका बासिन्दालाई राजमार्ग र गाउँपालिका केन्द्रसम्म आवतजावत गर्न सहज भएको छ। नेपाली सेना, गण्डकी प्रदेश सरकार, गाउँपालिका, कास्कीको जिल्ला प्रशासन कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र उपल्लो मोदी खोलामा सञ्चालित जलविद्युत् आयोजनाको संयुक्त प्रयासमा भदौ २ गतेदेखि मर्मत थालिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले बताउनुभएको छ। मर्मतका क्रममा मोदी खोलाको बहाव अर्कोतर्फ मोडेर ग्याबिन जालीमा ढुंगा भरिएको र त्यसको पछाडि माटो-ढुंगाले पुरिएको उहाँले जानकारी दिनुभएको छ।
बिरेठाँटीमा बाटो खुले पनि घान्द्रुकसँग भने अझै सिधा सडक सम्पर्क जोडिसकेको छैन।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


