अन्तर्राष्ट्रिय कबड्डी महासंघको सचिवमा नेपालका अरविन्दकुमार झा

नेपालका अरविन्दकुमार झा अन्तर्राष्ट्रिय कबड्डी महासंघ, आईकेएफको सचिव पदमा निर्वाचित हुनुभएको छ। अखिल नेपाल कबड्डी संघमा महासचिवको जिम्मेवारी सम्हालिरहनुभएका झालाई जापानमा सम्पन्न महासंघको साधारणसभाले उक्त पदमा चुनेको संघले जनाएको छ। सोही साधारणसभाले नेपालमा हुने २ अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजनासमेत पारित गरेको नवनिर्वाचित सचिव झाले बताउनुभएको छ।
यसअनुसार आगामी नोभेम्बरमा नेपालमा ४ देशबीचको फोर नेसन्स कप र आउँदो मार्चमा एसियाली महिला कबड्डी च्याम्पियनसिप हुनेछ। सचिवमा निर्वाचित भएपछि नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई अनुभव बटुल्न सहज हुने र देशमा कबड्डीको विकासमा टेवा पुग्ने झाको भनाइ छ। नेपालले आयोजना गर्ने दुवै प्रतियोगितालाई पनि आफ्नो नयाँ भूमिकाले सहयोग पुग्ने उहाँले उल्लेख गर्नुभएको छ।
जापानमै जारी २०औँ एसियाली खेलकुदमा अहिले नेपालका पुरुष र महिला दुवै कबड्डी टोली प्रतिस्पर्धा गरिरहेका छन्। गत १९औँ एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो। अन्तर्राष्ट्रिय महासंघको सचिवमा नेपाली प्रतिनिधि चुनिनुलाई अखिल नेपाल कबड्डी संघले नेपाली खेलकुदकै महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।
संघ परिवारले झालाई बधाई दिँदै उहाँको आगामी कार्यकाल सफल होस् भनी शुभकामना व्यक्त गरेको छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

