२० असोज २०८३ English
English

राष्ट्र बैंकले विदेशी मुद्रा सटही र अग्रिम भुक्तानीको सीमा बढायो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
राष्ट्र बैंकले विदेशी मुद्रा सटही र अग्रिम भुक्तानीको सीमा बढायो

YouTube मा सब्स्क्राइब

नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटही र भुक्तानीसम्बन्धी सीमा बढाएको छ। विदेशी विनिमय व्यवस्थापनसम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै राष्ट्र बैंकले सोमबार परिपत्र जारी गरेको हो। परिपत्रअनुसार नेपाली वायुसेवा कम्पनीले हवाईजहाजका इन्जिन र पार्टपुर्जा आयात गर्दा नियामक निकायको सिफारिसका आधारमा बैंकमार्फत ५ लाख अमेरिकी डलरसम्म अग्रिम भुक्तानी पठाउन सक्नेछन्।

यसअघि यो सीमा १ लाख डलर थियो। यसका लागि अब विदेशी बैंकको ग्यारेन्टी आवश्यक पर्दैन। हवाईजहाजका इन्जिन र पार्टपुर्जा विदेशमा मर्मत गर्न पठाउँदा पनि ५ लाख डलरसम्म अग्रिम भुक्तानी गर्न सकिनेछ।

विदेशमा उपचार गराउने नेपाली नागरिकले पाउने वार्षिक सटही सुविधा १५ हजारबाट बढाएर ३० हजार डलर पुर्‍याइएको छ। दूरसञ्चार कम्पनीले विदेशी स्याटेलाइट सेवा भाडामा लिएबापत वार्षिक ५ लाख डलरसम्म भुक्तानी गर्न पाउनेछन्। भारतसँगको कारोबारमा पाइने विदेशी मुद्रा सुविधाको सीमा पनि बढाइएको छ।

अनलाइनमार्फत सेवा निर्यात गर्नेले डलर कार्डमा राख्न पाउने मौज्दात ५ हजारबाट दोब्बर बनाएर १० हजार अमेरिकी डलर पुर्‍याइएको छ। सीमाभन्दा बढी रकम अनिवार्य रूपमा बैंक खातामा जम्मा गर्नुपर्नेछ। यस्ता प्रयोगकर्ताले विदेशबाट वस्तु तथा सेवा किन्न वार्षिक बढीमा १० हजार डलरसम्म खर्च गर्न सक्नेछन्।

तातोपानी, रसुवागढी र मुस्ताङ भन्सारबाट हुने आयातमा अब सामान जाँचपास हुनुअघिसम्म पूरा भुक्तानी गरे पुग्नेछ, तर ढुवानीअघि कम्तीमा १० प्रतिशत रकम पठाइसक्नुपर्नेछ।

स्रोत

सम्बन्धित समाचार