९ असोज २०८३ English
English

व्यवसायी पक्राउले मात्रै ग्रे लिस्टबाट बाहिरिँदैन: पूर्वअर्थमन्त्री खतिवडा

· १ मिनेट पढाइ
व्यवसायी पक्राउले मात्रै ग्रे लिस्टबाट बाहिरिँदैन: पूर्वअर्थमन्त्री खतिवडा
तस्बिर: क्लिकमाण्डू

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले उद्योगी व्यवसायीलाई पक्राउ गरेर मात्रै नेपाल ग्रे लिस्टबाट बाहिरिन नसक्ने बताउनुभएको छ। काठमाडौँमा ‘अर्थको अर्थ’ले आयोजना गरेको ‘बैंकिङ क्षेत्रका विद्यमान चुनौती र अर्थतन्त्र’ विषयक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नरसमेत रहनुभएका खतिवडाले ग्रे लिस्टबाट बाहिरिने नाममा बैंकका कर्मचारी तथा बैंकरलाई अनावश्यक रूपमा पक्राउ गर्ने वा दबाब दिने काम गर्न नहुनेमा जोड दिनुभयो। अपराध पुष्टि नभएको अवस्थामा त्यस्ता कदमले अपेक्षित परिणाम नदिने उहाँको भनाइ छ। अन्तर्राष्ट्रिय निकायले सुधारको कार्यान्वयन र त्यसबाट प्राप्त नतिजालाई आधार बनाउने भएकाले सरकारले कागजी सुधारभन्दा व्यवहारमा देखिने परिणाम देखाउनुपर्ने उहाँले बताउनुभयो।

ग्रे लिस्टबाट बाहिरिन नसके बैंकिङ प्रणाली, अन्तर्राष्ट्रिय व्यापार र पुँजी प्रवाहमा असर पर्ने उहाँको भनाइ छ। विगतमा नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न निकै कठिनाइ भोग्नुपरेको स्मरण गर्दै उहाँले सरकारले यस विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। सोही कार्यक्रममा उहाँले सरकारले नेपाल राष्ट्र बैंकको स्वायत्तता कमजोर बनाउन खोजेको आरोप लगाउनुभयो।

गभर्नरको कार्यकाल घटाउने वा कार्यकारी नेतृत्वलाई अनिश्चित बनाउने गरी कानुन बनाउन लागिएको भन्दै यस्तो व्यवस्थाले दीर्घकालीन मौद्रिक तथा वित्तीय नीति कार्यान्वयनमा अस्थिरता निम्त्याउने उहाँले बताउनुभयो। आफ्नो कार्यकालमा समेत अन्य नियामक निकायबाट राष्ट्र बैंकको क्षेत्राधिकारमा हस्तक्षेपको प्रयास भएको उहाँले स्मरण गर्नुभयो।

यो समाचार भिडियोमा

व्यवसायी पक्राउले मात्रै ग्रे लिस्टबाट बाहिरिँदैन: पूर्वअर्थमन्त्री खतिवडा

स्रोत

सम्बन्धित समाचार