१३ असोज २०८३ English
English

तातोपानी नाका खोल्न पहल, चीनको सर्त र संयुक्त टोलीको स्थलगत अवलोकन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
तातोपानी नाका खोल्न पहल, चीनको सर्त र संयुक्त टोलीको स्थलगत अवलोकन

YouTube मा सब्स्क्राइब

चीनसँगका तीनवटै स्थल नाका बन्द भएपछि सरकारले तातोपानी नाका खुलाउन पहल थालेको छ। दसैं आउन करिब दुई साता मात्र बाँकी छ। सरकारले नेपालस्थित चिनियाँ दूतावासका अधिकारीलाई बोलाएर नाका खोल्न सहयोग माग्यो।

सोमबार परराष्ट्र मन्त्रालयमा अर्थ र पूर्वाधार विकास मन्त्रालय तथा चिनियाँ दूतावासका अधिकारीबीच यस विषयमा छलफल भएको थियो। छलफलमा चिनियाँ पक्षले नेपालतर्फको सडक हेरेपछि मात्र नाका खोल्ने निर्णय गर्ने सर्त राखेको छ। सडक राम्रो नभए नाका खोलेर मात्र आयात–निर्यात सम्भव नहुने चिनियाँ पक्षको भनाइ छ।

त्यसपछि मंगलबार तीन मन्त्रालयका अधिकारी र दूतावासका काउन्सिलर सम्मिलित संयुक्त टोली स्थलगत अवलोकनमा पुगेको छ। परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा गएको टोलीमा सडक विभाग र सडक डिभिजन चरिकोटका अधिकारी पनि थिए। टोलीले सिन्धुपाल्चोकका सुरक्षा निकाय र प्रशासनका प्रतिनिधिसँग पनि छलफल गरेको छ।

सीमा सडक मर्मत गर्न र नाका सञ्चालनका जटिलता सुल्झाउन चिनियाँ पक्ष सकारात्मक देखिएको छ। पहिरोको जोखिम देखाउँदै चीनले तातोपानी–खासा नाका यसअघि नै बन्द गरेको थियो। भोटेकोशीको बाढीपछि भदौ १० देखि रसुवागढी नाका बन्द छ।

असोज ८ देखि ११ सम्मको अविरल वर्षाले मुस्ताङ जोड्ने पुल बगाएपछि कोरला नाका पनि सडक सम्पर्कबाट टुटेको छ। भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा चीनबाट ७६ अर्ब रुपैयाँभन्दा बढीको सामान आयात भएको थियो। नाका बन्द हुँदा व्यापारी मर्कामा परेका छन् भने उपभोक्ताले महँगी झेल्नुपरेको छ।

स्रोत

सम्बन्धित समाचार