९ असोज २०८३ English
English

सुदूरपश्चिम प्रदेश सरकारका सबै संयन्त्र हाई अलर्टमा

· १ मिनेट पढाइ
सुदूरपश्चिम प्रदेश सरकारका सबै संयन्त्र हाई अलर्टमा
तस्बिर: गोरखापत्र

सुदूरपश्चिम प्रदेश सरकारले असोज ९ शुक्रबारदेखि ११ गते आइतबारसम्म हुन सक्ने भारीदेखि अति भारी वर्षाको पूर्वानुमानपछि आफ्ना सबै संयन्त्रलाई उच्च सतर्कतामा राखेको छ। मुख्यमन्त्री खगराज भट्टले बिहीबार धनगढीमा भएको एउटा नीतिगत संवादमा सम्भावित विपद्को मानवीय र भौतिक क्षति घटाउन प्रदेश सरकारले सक्दो पहल गर्ने बताउनुभएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सरोकारवाला निकायसँग मिलेर विपद् जोखिम व्यवस्थापन र जलवायु अनुकूलन बजेटको विषयमा उक्त कार्यक्रम आयोजना गरेको थियो।

रसुवाको भोटेकोशीमा आएको बाढीलगायतका घटनाबाट पाठ सिकेर अहिले नै तयारी गर्नुपर्ने मुख्यमन्त्री भट्टको भनाइ छ। उहाँका अनुसार पछिल्लो १० वर्षमा बाढी, पहिरोलगायत विपद्ले प्रदेशमा करिब २ लाख परिवार प्रभावित भएका छन् भने करिब ३२ अर्ब रुपैयाँको आर्थिक नोक्सानी भएको छ। विपद्को जोखिम घटाउन प्रदेश सरकारले सबै निकायसँग सहकार्य गरिरहेको मुख्यमन्त्री भट्टले जानकारी दिनुभएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज सुदूरपश्चिमका हिमाली, पहाडी र तराई भू-भागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ। भोलि प्रदेशका हिमाली भू-भागका केही स्थानमा वर्षा वा हिमपात तथा पहाडी र तराईका केही स्थानमा मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।

यो समाचार भिडियोमा

सुदूरपश्चिम प्रदेश सरकारका सबै संयन्त्र हाई अलर्टमा

स्रोत

सम्बन्धित समाचार