पत्रकार शोभराज बराल पनि पक्राउ, नयाँ पत्रिका र दियो पोष्टको कार्यालयमा पुग्यो प्रहरी

नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेपछि प्रहरीले शुक्रबार पत्रकार शोभराज बराललाई पनि समाचार कक्षबाटै नियन्त्रणमा लिएको छ। बराललाई मोटिभेट न्युजको कार्यालयबाट नियन्त्रणमा लिइएको हो।
सादा पोसाकमा रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोली संवाददाता नवराज मैनालीलाई खोज्दै नयाँ पत्रिकाको कार्यालयमा पुगेको छ। नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तका अनुसार प्रहरी मैनालीलाई साइबर ब्युरोमा लैजानुपर्ने भन्दै कार्यकक्षमा बसेको छ। अनामनगरस्थित दियो पोष्ट डट कमको कार्यालयमा पुगेको प्रहरीले प्रधान सम्पादक सुदिप विश्वकर्मा र सम्पादक रिता बुढाथोकीको खोजी गरेको छ।
यस्तै, नेपाल प्रेसको प्रकाशन संस्था नेपाल इ प्रेसका अध्यक्ष विन्दुराज लम्साल र प्रधान सम्पादक मातृका पौडेललाई साइबर ब्युरोमा बोलाइएको छ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग सम्बन्ध देखिएका इनम सापकोटाको मोबाइलमा भेटिएको सम्पर्क विवरण सार्वजनिक गर्ने पत्रकारमाथि यो कारबाही भएको रातोपाटीले जनाएको छ।
नेपाल पत्रकार महासंघले समाचार कक्षबाट पत्रकार उठाउनु 'राज्य आतंक' भएको भन्दै यस्तो कार्य तत्काल बन्द गर्न माग गरेको छ। महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले घटनालाई पञ्चायतकालीन अभ्यास भनेका छन् भने वरिष्ठ अधिवक्तासमेत रहेका पूर्वअध्यक्ष मैनालीले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु गैरसंवैधानिक भएको बताएका छन्। जेनजी अभियन्ता रक्षा बमले पनि यस घटनालाई लिएर रास्वपा सभापति रवि लामिछानेको आलोचना गरेकी छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


