९ असोज २०८३ English
English

राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट, सङ्क्रामक पशु रोग विधेयक राष्ट्रिय सभाबाट पारित

· १ मिनेट पढाइ
राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट, सङ्क्रामक पशु रोग विधेयक राष्ट्रिय सभाबाट पारित
तस्बिर: नेपाल लाइभ

प्रतिनिधिसभाले सोमबार राष्ट्रिय सेवा दल विधेयक, २०८३ सर्वसम्मतिले पारित गरेको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र शाहको तर्फबाट प्रस्ताव प्रस्तुत गर्नुभएको हो। राज्य व्यवस्था तथा सुशासन समितिले दफावार छलफलपछि तालिम बहालवाला सैनिक अधिकारीबाटै दिनुपर्ने अनिवार्य व्यवस्था हटाएको छ।

तर प्रशिक्षक छनोटमा नेपाली सेनाको भूमिका भने कायम रहनेछ। विधेयकले विद्यालयमा पढ्ने विद्यार्थीमा अनुशासन, राष्ट्रप्रेम, जनसेवा र राष्ट्रिय एकताको भावना बढाउने उद्देश्य राखेको छ। सरकारले आवश्यक ठानेमा विद्यार्थीबाहेक अन्य नेपाली नागरिक वा संस्थालाई पनि सेवा दलमार्फत तालिम दिई राष्ट्र सेवामा खटाउन सकिने व्यवस्था रहेको मन्त्री गौतमले स्पष्ट पार्नुभएको छ।

तालिम लिन चाहने विद्यार्थीका लागि मापदण्ड तोकिएको र दूरदराजका विद्यार्थीलाई प्राथमिकता दिइएको उहाँको भनाइ छ। विधेयक बालबालिकाको अधिकार र हितलाई सर्वोपरि राखेर तयार पारिएको पनि मन्त्री गौतमले बताउनुभएको छ। अब विधेयक राष्ट्रिय सभामा जानेछ र त्यहाँबाट पारित भई प्रमाणीकरण भएपछि यसले २०२७ सालको राष्ट्रिय सेवा दल ऐनलाई प्रतिस्थापन गर्नेछ।

यसैगरी, राष्ट्रिय सभाले सोमबार सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ सर्वसम्मतिले पारित गरेको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले प्रस्ताव गरेको विधेयकले पशु र माछामा लाग्ने सङ्क्रामक रोगको रोकथाम तथा नियन्त्रणमा सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयको कानुनी आधार दिनेछ। यो विधेयक प्रतिनिधिसभामा पठाइनेछ।

यो समाचार भिडियोमा

राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट, सङ्क्रामक पशु रोग विधेयक राष्ट्रिय सभाबाट पारित

स्रोत

सम्बन्धित समाचार