जलवायु संकटको मार नेपालले खेप्नु हुँदैन: पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धाका कारण सिर्जित जलवायु तथा वातावरणीय समस्याको मार नेपालजस्ता कमजोर मुलुकले खेप्नु नहुने बताउनुभएको छ। शनिबार काठमाडौंमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तरसंवाद’ कार्यक्रममा बोल्दै उहाँले शक्ति राष्ट्रहरूले विकास र प्रविधिमा ठूलो खर्च गरे पनि जलवायु परिवर्तनको असर न्यूनीकरण र वातावरण संरक्षणमा त्यहीअनुसार लगानी नगरेको टिप्पणी गर्नुभएको छ। जलवायु परिवर्तनको असरमा वर्गीयता प्रकट भएको उहाँको भनाइ छ।
संयुक्त राष्ट्रसंघमा शक्तिशाली राष्ट्रको प्रभाव बढी हुने र नेपालसँग आर्थिक तथा राजनीतिक शक्ति सीमित रहेकाले हिन्दकुश हिमालय क्षेत्रका देशले सामूहिक रूपमा आवाज उठाउनुपर्ने उहाँले बताउनुभयो। त्यो आवाज अन्तर्राष्ट्रिय मञ्चमा बलियो बनाउन इसिमोडजस्ता संस्थाको भूमिका महत्त्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो। जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, छलफल तथा सेमिनारमा ठूलो रकम खर्च भए पनि विश्वको पारिस्थितिक प्रणाली व्यवस्थित गर्ने दिशामा अपेक्षित कदम चाल्न नसकिएको उहाँको भनाइ छ।
हिमाल तथा पहाडी क्षेत्र कमजोर बन्दै गएको पुरानो समस्यालाई मानवसिर्जित गतिविधिले थप जटिल बनाएको उहाँले बताउनुभयो। नेपाल करिब तीन करोड जनसंख्या भएको र ठूला छिमेकीबीच रहेकाले भौगोलिक तथा राजनीतिक रूपमा संवेदनशील रहेको उहाँले उल्लेख गर्नुभयो। व्यापार घाटा घटाउन आत्मनिर्भर अर्थतन्त्र निर्माण आवश्यक रहेको उहाँको भनाइ छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


