९ असोज २०८३ English
English

कर्णाली, सुदूरपश्चिम र लुम्बिनीमा लामो दूरीका सवारी दिउँसै पनि रोकिए

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कर्णाली, सुदूरपश्चिम र लुम्बिनीमा लामो दूरीका सवारी दिउँसै पनि रोकिए
तस्बिर: गोरखापत्र

भारी वर्षाको पूर्वानुमानसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशमा लामो दूरीका सवारीसाधनको आवागमन रोकिएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेत, नेपालगञ्ज, जुम्ला, हुम्ला, कालीकोट, जाजरकोट, डोल्पा, सल्यान र रुकुमतर्फ जाने लामो दूरीका साधन पूर्ण रूपमा बन्द गरिएका छन्। प्रहरी प्रवक्ता सन्तोषसिंह राठौरले सडकको अवस्था हेरेर छोटो दूरीका स्थानीय साधन भने चलिरहेको बताउनुभएको छ।

भेरी करिडोर, कर्णाली राजमार्ग, राप्ती राजमार्ग र मध्यपहाडी लोकमार्गका विभिन्न ठाउँमा पहिरो, सडक भासिने र खोलाको बहाव बढ्ने समस्या देखिएको छ। प्रदेश सरकारले प्रदेशका १० वटै जिल्लामा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएको मुख्यमन्त्री मङ्गलबहादुर शाहीले जानकारी दिनुभएको छ। कालीकोटका प्रमुख जिल्ला अधिकारी झबिलाल भट्टराईले कर्णाली करिडोर र कालीकोट–जुम्ला सडकखण्डमा अत्यावश्यक सेवाबाहेकका सबै साधन अर्को सूचना नआएसम्म बन्द गरिएको बताउनुभएको छ।

सुदूरपश्चिममा यातायात समितिहरूले शुक्रबारदेखि आइतबारसम्म लामो दूरीका बस नचलाउने निर्णय गरेका छन्। छोटो दूरीका साधन पर्याप्त नहुँदा कतिपय रुटमा यात्रुले सास्ती खेपिरहेका छन्। लुम्बिनीका पाल्पा, गुल्मी, अर्घाखाँची र नवलपरासीमा जोखिम हेरी दिउँसै पनि सडक बन्द गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जिल्ला प्रशासन कार्यालयहरूलाई पत्र पठाएको छ।

कुन सडक कहिले बन्द गर्ने भन्ने निर्णय जिल्ला प्रशासन र स्थानीय तहले गर्नेछन्। जल तथा मौसम विज्ञान विभागले नेपालगञ्जमा मेघगर्जनसहित भारी वर्षाको पूर्वानुमान गरेको छ।

यो समाचार भिडियोमा

कर्णाली, सुदूरपश्चिम र लुम्बिनीमा लामो दूरीका सवारी दिउँसै पनि रोकिए

स्रोत

सम्बन्धित समाचार