धादिङमा सात झोलुङ्गे पुलको पुनर्निर्माण सुरु, फुर्केखोलामा पुलको माग

भोटेकोशी नदीको बाढीले सम्पर्क विच्छेद भएको तीन सातापछि धादिङमा सातवटा झोलुङ्गे पुलको मर्मत तथा पुनर्निर्माण सुरु भएको छ। सस्पेन्सन ब्रिज डिभिजनले महेशदोभान मास्टर, चिरौंदी खोला, शीतलबजार–क्युरेनिटार, कालिकास्थान, मालिका–मधुवाटार दोभान, केउरेनी–गहते र फोसेटार पुललाई प्राथमिकतामा राखेको छ। गल्छी–१ र ६ जोड्ने महेशदोभान मास्टर, सिद्धलेक–६ र गजुरी–१ जोड्ने कालिकास्थान तथा मालिका–मधुवाटार दोभान पुल असोज १७ गतेभित्र सम्पन्न गर्ने सम्झौता भएको छ।
बाँकी चार पुलको काम असोज २६ गतेभित्र सक्ने लक्ष्य छ। पुल भत्किएपछि नदी वारपार गर्न नसक्दा किसानको उत्पादन बजार पुग्न नसकेको र विद्यार्थीको पढाइ प्रभावित भएको स्थानीयको गुनासो छ। अर्कातिर धादिङ उद्योग वाणिज्य सङ्घको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मलेखु नजिकैको फुर्केखोलामा तत्काल पुल निर्माण गर्न प्रमुख जिल्ला अधिकारीमार्फत मंगलबार सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको छ।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङको मध्य तथा उत्तरी क्षेत्रको सडक सञ्जाल पृथ्वी राजमार्गबाट विच्छेद भएको छ। प्रतिनिधिमण्डलले पुल निर्माणसँगै वैकल्पिक सडकको मर्मतसम्भार र प्रभावित उद्योगी–व्यवसायीलाई राहतसहित पुनःस्थापनाको माग गरेको छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


