दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र: ३२ खेल, सुर्खेतमा मूल आयोजक समितिको बैठक

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता ३२ खेल विधामा सञ्चालन गर्ने निर्णय भएको छ। आइतबार सुर्खेतको वीरेन्द्रनगरमा बसेको मूल आयोजक समितिको बैठकले यो निर्णय गरेको हो। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको बैठकमा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीलगायत सम्बन्धित निकायका पदाधिकारी सहभागी हुनुहुन्थ्यो।
प्रतियोगिता मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा हुनेछ। तय भएका खेलस्थलअनुसार २० खेल पूर्ण रूपमा सुर्खेतमै हुनेछन् भने ८ खेल पूर्ण रूपमा सुर्खेतबाहिर हुनेछन्। केही खेल कर्णालीका अन्य जिल्ला र नेपालगन्जमा सञ्चालन गरिनेछन्।
पूर्वाधार अभावका कारण केही खेल प्रदेशबाहिर गराउने राष्ट्रिय खेलकुद परिषद्को तयारी छ। सात प्रदेश र तीन विभागीय टोलीले प्रतियोगितामा भाग लिनेछन्। बैठकले तयारी, व्यवस्थापन र सञ्चालनको अधिकार कार्यसम्पादन समितिलाई प्रत्यायोजन गरेको छ।
प्रायोजकसँग समझदारी गरी सार्वजनिक–निजी साझेदारी अवधारणा अपनाउने निर्णय भएको परिषद्का सदस्यसचिव रामचरित्र मेहताले बताउनुभएको छ। मन्त्री पोखरेलले प्रतियोगिता पटकपटक सरेकाले शंका जायज भए पनि अब यो नसर्ने बताउनुभएको छ। उहाँका अनुसार खेलकुदको उत्सव आजैबाट थालिएको छ भने प्रतिस्पर्धा मात्र मंसिर १६ बाट हुनेछ।
कर्णालीमा राष्ट्रिय खेलकुद पहिलोपटक हुन लागेको हो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

