१६ असोज २०८३ English
English

चाडपर्व लक्षित गरी काठमाडौँमा सुरक्षा कडा, रातभरको स्विप अपरेसन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
चाडपर्व लक्षित गरी काठमाडौँमा सुरक्षा कडा, रातभरको स्विप अपरेसन

YouTube मा सब्स्क्राइब

चाडपर्वको समय नजिकिँदै गर्दा नेपाल प्रहरीले काठमाडौँमा विशेष सुरक्षा योजना लागु गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले सुरक्षा चुनौतीको विश्लेषण गरी तयार पारेको योजनाअन्तर्गत ३ हजार ५ सयभन्दा बढी प्रहरी परिचालन गरिनेछ। प्रहरीले पकेटमारी, चोरी, लुटपाट, जुवा, अपहरण, मानव बेचबिखन, विदेशी मुद्रा ठगी र पेय पदार्थमा नशालु पदार्थ मिसाउने जस्ता जोखिम पहिचान गरी योजना बनाएको जनाएको छ।

धार्मिक र सांस्कृतिक स्थल, खाद्यान्न तथा खसी बजार, बसपार्क, भिडभाड हुने सार्वजनिक स्थान, कार्यालय, बैंक तथा वित्तीय संस्था, सपिङ मल र गरगहना पसललाई सुरक्षा दिनुपर्ने क्षेत्रका रूपमा छुट्याइएको छ। योजनासँगै प्रहरीले बिहीबार साँझदेखि शुक्रबार बिहान ६ बजेसम्म काठमाडौँका विभिन्न स्थानमा स्विप अपरेसन सञ्चालन गरेको छ। उक्त अभियानमा २५० जनालाई नियन्त्रणमा लिइएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभएको छ।

पक्राउ पर्नेमध्ये २२७ जना पुरुष र २३ जना महिला छन्। आपराधिक पृष्ठभूमि भएका, पटक–पटक कसुर दोहोर्‍याउने र सार्वजनिक शान्ति भङ्ग गर्नेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यो कारबाही सुरक्षित काठमाडौँ अभियानअन्तर्गत गरिएको हो।

प्रहरीले पूर्वसूचनाविना मातहतका सबै इकाइ परिचालन गरी यस्ता अपरेसन बेलाबेलामा चलाउने गरेको छ। फरार व्यक्ति देखिएमा तुरुन्त खबर गर्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।

स्रोत

सम्बन्धित समाचार