प्रधानमन्त्रीको सचिवालयमा २५ जना कार्यरत, विवरण सार्वजनिक

प्रधानमन्त्री वालेन्द्र शाहको सल्लाहकार समूह, विज्ञ टोली र स्वकीय सचिवालयमा कुल २५ जना कार्यरत रहेको विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार आफ्नो वेबसाइटमार्फत उनीहरूको नाम, जिम्मेवारी र पाउने सुविधासहितको सूची सार्वजनिक गरेको हो। यसअघि सचिवालयमा नियुक्त व्यक्तिको सङ्ख्या मात्र बाहिर आएकामा यसपटक नाम र जिम्मेवारी पनि खुलाइएको छ।
विवरणअनुसार ३ जनाले मन्त्रीसरह र २ जनाले राज्यमन्त्रीसरहको सुविधा पाएका छन्। मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार र राजनीतिक सल्लाहकार असिम शाह मन्त्रीसरहको दर्जामा छन्। विज्ञ समूहअन्तर्गत स्वास्थ्य सल्लाहकार रहेका प्राध्यापक डाक्टर जगदीशप्रसाद अग्रवाल पनि मन्त्रीसरहकै हैसियतमा छन्।
ब्यञ्जनकार र अग्रवालले भने तलब नलिई सेवा दिइरहेका छन्। नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रलाई राज्यमन्त्रीसरहको सुविधा तोकिएको छ। प्रमुख स्वकीय सचिवको जिम्मेवारी राजपत्राङ्कित विशिष्ट श्रेणीको दर्जामा सुवास शर्मालाई दिइएको छ।
बाँकी सदस्यमा विभिन्न प्रशासनिक र प्राविधिक तहका सल्लाहकार, विज्ञ तथा स्वकीय कर्मचारी समावेश छन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

