९ असोज २०८३ English
English

बिहीबारदेखि लामो दूरी र रातिको यात्रा नगर्न आग्रह, हेटौंडा–काठमाडौं सडकमा राति रोक

· १ मिनेट पढाइ
बिहीबारदेखि लामो दूरी र रातिको यात्रा नगर्न आग्रह, हेटौंडा–काठमाडौं सडकमा राति रोक
तस्बिर: थाहाखबर

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले असोज ८ गते बिहीबारदेखि १२ गतेसम्म लामो दूरी र रातिको यात्रा नगर्न आग्रह गरेको छ। महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी सार्वजनिक सूचनामा सवारी साधन सञ्चालनअघि बाटो र मौसमको अवस्थाबारे अनिवार्य पूर्वजानकारी लिन भनिएको छ। चालक, परिचालक र बुकिङ कर्मचारीलाई स्थानीय निकाय तथा सुरक्षाकर्मीसँग समन्वय गरेर मात्र सेवा सञ्चालन गर्न निर्देशन दिइएको छ।

महासंघअन्तर्गतका संघ, समिति, कम्पनी, पर्यटन तथा सहकारी संस्थालाई सोही अवधिभर उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वसूचनापछि महासंघले यो आह्वान गरेको हो। यसैबीच जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा–काठमाडौं सडकमा राति सवारी चलाउन रोक लगाएको छ।

कार्यालयका अनुसार यो रोक असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म कायम रहनेछ। कान्ति राजमार्गमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मात्र चौघडाबाट काठमाडौंतर्फ प्रस्थान गर्न दिइने प्रशासकीय अधिकृत सन्तोष सुवेदीले बताउनुभएको छ। भैंसे–भीमफेदी–देउराली–कुलेखानी हुँदै काठमाडौं आउने सवारीलाई हेटौंडाको चौकीटोलबाट सोही समयभित्र प्रस्थान गर्न दिइनेछ।

काठमाडौंबाट हेटौंडा जाने सवारी फाखेलको हुमाने र सिस्नेरीको रामचन्द्र भञ्ज्याङबाट जानुपर्नेछ। यी सडक खण्डमा राति ७ बजेपछि सवारी आवागमन पूर्ण रूपमा बन्द हुनेछ।

यो समाचार भिडियोमा

बिहीबारदेखि लामो दूरी र रातिको यात्रा नगर्न आग्रह, हेटौंडा–काठमाडौं सडकमा राति रोक

स्रोत

सम्बन्धित समाचार