पदयात्रा र हिमाल आरोहण स्थगित गर्न पर्यटन बोर्डको आग्रह, उडानमा सतर्कता

नेपाल पर्यटन बोर्डले पदयात्रा, हिमाल आरोहण र अन्य पर्यटकीय गतिविधि तत्कालका लागि स्थगित गर्न आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागले भारीदेखि अति भारी वर्षाको चेतावनी दिएपछि बोर्डले यस्तो अपिल गरेको हो। विशेषगरी असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशलगायतका क्षेत्रमा प्रतिकूल मौसम रहने भएकाले सावधानी अपनाउन भनिएको छ।
हाल पर्यटकीय मौसम भएकाले धेरै क्षेत्रमा भ्रमण तथा आरोहणका कार्यक्रम भइरहेको बोर्डका प्रवक्ता सुनिल शर्माले बताउनुभएको छ। ठूलो वर्षा र हिमपातसँगै उच्च हिमाली क्षेत्रमा जोखिम रहने भएकाले पर्यटक तथा व्यवसायीलाई आधिकारिक सूचना निरन्तर पछ्याउन बोर्डले आग्रह गरेको छ। अर्कातर्फ वायुसेवा सञ्चालक संघ, नेपालले सदस्य कम्पनीलाई उच्च सतर्कता अपनाउन बुधबार परिपत्र जारी गरेको छ।
उडानअघि पूर्ण सुरक्षाको सुनिश्चितता गर्न र सम्भावित विपद्मा तत्काल उद्धारका लागि तयारी हालतमा रहन संघले निर्देशन दिएको छ। लगातारको वर्षाले बाढी, पहिरो, भूक्षय तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम बढ्ने संघले जनाएको छ। साना तथा ठूला नदीको जलसतह बढ्दा नदी आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने चेतावनी पनि दिइएको छ।
विभागका अनुसार असोज ७ गते बुधबारदेखि नै कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्नेछ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


