एसियाड क्रिकेट: जापानसँगको खेल वर्षाले रद्द, समूह विजेता नेपाल क्वार्टरफाइनलमा श्रीलङ्कासँग

जापानमा जारी २०औँ एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपाल समूह ‘ए’ को विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको छ। जापानको नागोयास्थित कोरोगी स्पोर्ट्स पार्कमा शनिबार आयोजक जापानसँगको खेल वर्षाका कारण नतिजाविहीन भएपछि दुवै टोलीले एक–एक अंक बाँडेका छन्। वर्षाले ढिलो सुरु भएको खेल १५ ओभरमा घटाइएको थियो।
टस हारेपछि ब्याटिङमा उत्रिएको नेपालले चार विकेटको क्षतिमा १४९ रन जोडेको छ। सन्दीप जोरा ३२ बल खेल्दै ५७ रनमा अविजित रहे, जसमा पाँच चौका र तीन छक्का छन्। लोकेश बमले छ छक्का र एक चौका हान्दै २२ बलमै अविजित ५२ रन बनाएका छन्।
आसिफ शेखले २१ रनको योगदान दिएका छन्। जापानका चार बलरले एक–एक विकेट लिएका छन्। नेपालको इनिङ सकिएपछि फेरि पानी परेकाले जापानले जवाफी ब्याटिङ गर्न पाएन।
पहिलो खेलमा अफगानिस्तानलाई पाँच विकेटले हराएको नेपाल दुई खेलबाट ३ अंक जोडेर शीर्ष स्थानमा पुगेको छ। २ अंक पाएको अफगानिस्तान उपविजेता बनेको छ भने जापान प्रतियोगिताबाट बाहिरिएको छ। नेपालले मंगलबार बिहान पौने ६ बजे क्वार्टरफाइनलमा श्रीलंकासँग खेल्नेछ।
अफगानिस्तानको भेट भारतसँग हुनेछ। पुरुष क्रिकेटमा यो नेपालको चौथो सहभागिता हो र नेपाल अहिलेसम्म अन्तिम आठभन्दा माथि पुग्न सकेको छैन।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


