मलेसियाको रोजगारीमा केही म्यानपावरको एकाधिकारको विरोधमा व्यवसायी संघ

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको श्रम बजार तुरुन्त खुला हुनुपर्ने बताएको छ। तर केही म्यानपावर कम्पनीको एकाधिकार भने स्वीकार्य नहुने संघको भनाइ छ। संघले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरेको छ।
मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम अर्थात् एफडब्लुसिएमएसमा सीमित नेपाली कम्पनी मात्र सूचीकृत गरिएकोमा संघले आपत्ति जनाएको छ। उक्त प्रणालीमा २५ कम्पनीलाई मुख्य र २५० लाई सहायकका रूपमा राखिएको छ। सूचीकृत कम्पनीबाट मात्र श्रमिक भर्ना गर्ने व्यवस्था मलेसियाले गरेको छ।
संघका अनुसार देशमा करिब १ हजार २ सय इजाजतप्राप्त व्यवसायी छन्। संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ले मलेसिया चाहिने तर सिन्डिकेट नचाहिने बताउनुभएको छ। खुला श्रम बजार चाहिने तर एकाधिकार नचाहिने उहाँको भनाइ छ।
योग्य सबै कम्पनीलाई प्रणालीमा समान रूपमा समेटिए विवाद टुंगिने उहाँले बताउनुभएको छ। मलेसियाको रोजगारी बन्द गर्नुपर्ने पक्षमा आफूहरू नरहेको संघले स्पष्ट पारेको छ। सीमित संस्थाको हातमा अधिकार पुग्दा प्रतिस्पर्धा घट्ने र श्रमिक पठाउने खर्च बढ्ने जोखिम संघले औँल्याएको छ।
यसबाट पारदर्शिता कमजोर हुने र अनौपचारिक रकम असुली बढ्ने खतरा पनि संघले देखाएको छ। वैदेशिक रोजगार विभागले सूचीकृत २५० संस्थासँग छनोटको आधार र प्रक्रियाबारे स्पष्टीकरण मागेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


