९ असोज २०८३ English
English

नेप्से दोहोरो अंकले बढ्यो, कारोबार रकम घट्यो

· १ मिनेट पढाइ
नेप्से दोहोरो अंकले बढ्यो, कारोबार रकम घट्यो
तस्बिर: सेतोपाटी

सेयर बजार परिसूचक नेप्से बिहीबार ११.७७ अंकले उकालो लागेर २६२९.८१ बिन्दुमा बन्द भएको छ। अघिल्लो दिन बुधबार परिसूचक झन्डै ३६ अंकले ओर्लिएर २६१८ बिन्दुमा झरेको थियो। सूचक बढे पनि बुधबार ६ अर्ब रुपैयाँभन्दा बढी रहेको कारोबार बिहीबार करिब ५ अर्ब ४४ करोड रुपैयाँमा झरेको छ।

यो दिन ३५६ वटा धितोपत्रका करिब १ करोड ७२ लाख कित्ता सेयरको हात फेरिएको छ। कारोबारमा आएकामध्ये १७६ कम्पनीको भाउ बढेको छ भने ९५ वटाको घटेको छ र ७ कम्पनी स्थिर छन्। समूहगत रूपमा उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.८३ प्रतिशतले बढेको छ, जबकि निर्जीवन बीमा ०.३३ प्रतिशतले घटेको छ।

नेपाल ल्युब आयल, सोनापुर मिनरल्स, घोराही सिमेन्ट र पाल्पा सिमेन्टजस्ता कम्पनीको मूल्यवृद्धिले उत्पादन समूहलाई माथि उचालेको छ। नेपाल ल्युब आयलको सेयर मूल्य सर्वाधिक १२.४७ प्रतिशतले बढेर प्रतिकित्ता २७१ रुपैयाँ ३० पैसा पुगेको छ। सोनापुर मिनरल्सको मूल्य ७.६५ प्रतिशतले बढेर प्रतिकित्ता १ हजार ४३४ रुपैयाँ ९० पैसा कायम भएको छ।

मिड सोलु हाइड्रोपावरको मूल्य भने सबैभन्दा धेरै ११.५८ प्रतिशतले घटेर प्रतिकित्ता ५५० रुपैयाँमा झरेको छ। धौलागिरी लघुवित्तको मूल्य पनि करिब १० प्रतिशतले घटेको छ। शिवम् सिमेन्टको सर्वाधिक करिब ३५ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ।

यो समाचार भिडियोमा

नेप्से दोहोरो अंकले बढ्यो, कारोबार रकम घट्यो

स्रोत

सम्बन्धित समाचार