१४ असोज २०८३ English
English

सामाजिक सञ्जालको दुरुपयोग रोक्न कानुनी ढाँचा र तथ्य जाँचको तयारी: सञ्चारमन्त्री

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सामाजिक सञ्जालको दुरुपयोग रोक्न कानुनी ढाँचा र तथ्य जाँचको तयारी: सञ्चारमन्त्री

YouTube मा सब्स्क्राइब

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारले छुट्टै कानुनी ढाँचा तयार पारिरहेको बताउनुभएको छ। बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै उहाँले सामाजिक सञ्जालमार्फत हुने ठगी, दुर्व्यवहार र भ्रामक सूचनाको समस्या सम्बोधन गर्न यो तयारी गरिएको बताउनुभएको हो।

बुलिङ र चरित्रहत्याका घटना मन्त्रालयको उच्च प्राथमिकतामा रहेको र चरित्रहत्याको विषयमा सरकारले अहिले पनि काम गरिरहेको उहाँको भनाइ छ। मन्त्री तिमिल्सिनाका अनुसार सरकारले ल्याउन लागेको आमसञ्चार ऐन संशोधन विधेयक र प्रेस काउन्सिल नेपाल ऐन संशोधन विधेयकमा झुटा र भ्रामक सूचना फैलाउने प्रवृत्ति नियन्त्रण गर्ने व्यवस्था राखिएको छ। आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्यक्रमअनुसार सामाजिक सञ्जालका सामग्रीको तथ्य जाँच गर्न छुट्टै अध्ययन अघि बढाइएको छ।

यसका लागि गृह मन्त्रालय र साइबर ब्युरोसँग छलफल र समन्वय भइरहेको मन्त्रीको भनाइ छ। सामाजिक सञ्जालमा गलत सूचना हाल्नेलाई सचेत गराउनुपर्ने र कारबाहीसमेत गर्नुपर्ने कुरा संसद्मा पनि उठेको उहाँले उल्लेख गर्नुभएको छ। सोही बैठकमा मन्त्री तिमिल्सिनाले भोटेकोशी र पछिल्ला बाढीबाट दूरसञ्चार क्षेत्रमा करिब ८ करोड ८५ लाख रुपैयाँ बराबरको भौतिक क्षति पुगेको जानकारी दिनुभएको छ।

उहाँका अनुसार गण्डकी प्रदेशका ११ जिल्लामा क्षतिग्रस्त २९१ मध्ये २४६ साइट पुनः सञ्चालनमा आइसकेका छन्। बाढी प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा प्राथमिकताका साथ पुनःस्थापना गरिएको उहाँले बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार