९ असोज २०८३ English
English

राष्ट्रसङ्घ महासभामा प्रधानमन्त्री शाहको सम्बोधन आज बिहान

· १ मिनेट पढाइ
राष्ट्रसङ्घ महासभामा प्रधानमन्त्री शाहको सम्बोधन आज बिहान
तस्बिर: अनलाइनखबर

प्रधानमन्त्री बालेन्द्र शाहले भोलि शुक्रबार बिहान संयुक्त राष्ट्रसङ्घ महासभाको ८१औँ सत्रलाई नेपालका तर्फबाट सम्बोधन गर्दै हुनुहुन्छ। परराष्ट्र मन्त्रालयका अनुसार नेपाली समयअनुसार बिहान पौने ६ बजे उहाँको पालो तोकिएको छ। वक्ताहरूको क्रमअनुसार समय केही अगाडि वा पछाडि सर्न सक्ने मन्त्रालयले जनाएको छ।

राष्ट्रसङ्घ सचिवालयको कार्यतालिकाअनुसार न्युयोर्कमा बिहीबार दिउँसो सुरु हुने सत्रमा नेपालको पालो राखिएको छ। प्रधानमन्त्रीका प्रेस संयोजक सुरेन्द्र बजगाईंका अनुसार सम्बोधन बिहान ५ देखि ६ बजेबीच हुनेछ र राष्ट्रसङ्घको आधिकारिक यूएन वेब टीभीबाट प्रत्यक्ष प्रसारण गरिनेछ। सम्बोधनमा जलवायु न्याय, विश्वमा चलिरहेका युद्ध र नेपालका सरोकार मुख्य विषय बन्ने अपेक्षा गरिएको छ।

सम्बोधनअघि प्रधानमन्त्री शाहले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ। सरकारी कार्यक्रमअनुसार यस भ्रमणमा प्रधानमन्त्रीको कूटनीतिक भेटवार्ता यही एउटा मात्र तय गरिएको छ। अन्य द्विपक्षीय भेटघाट परराष्ट्रमन्त्री शिशिर खनालले सम्हालिरहनुभएको छ।

यो समाचार भिडियोमा

राष्ट्रसङ्घ महासभामा प्रधानमन्त्री शाहको सम्बोधन आज बिहान

स्रोत

सम्बन्धित समाचार