महाकालीको बहाव घट्यो, बनबासा पुल र गड्डाचौकी नाकामा आवतजावत सहज

कञ्चनपुरको महाकाली नदीमा बाढीको बहाव घटेपछि भारतको बनबासा पुल भएर चारपाङ्ग्रे सवारीसाधनको आवागमन फेरि सुरु भएको छ। शनिबार साँझ बहाव १ लाख क्युसेक नाघेपछि सुरक्षाका कारण आइतबारदेखि पुलमा मालवाहक र यात्रुवाहक गाडी रोकिएको थियो। जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार आइतबार दिउँसो बहाव झन्डै १ लाख ७८ हजार क्युसेक पुगेको थियो।
सोमबार बिहान शारदा ब्यारेजमा बहाव घटेर करिब ९८ हजार क्युसेकमा झरेको केन्द्रले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले बहाव घटेसँगै पुल पूर्ण रूपमा सञ्चालनमा आएको बताउनुभएको छ। पुल जीर्ण रहेको भन्दै भारतीय पक्षले बहाव १ लाख क्युसेक नाघ्नासाथ ठूला सवारी रोक्ने गरेको छ।
प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार बहाव २ लाख क्युसेक नाघे दुईपाङ्ग्रे सवारी र पैदल यात्रासमेत रोकिन्छ। पश्चिमी गड्डाचौकी नाका भएर नेपाल–भारत आवतजावत पनि सहज भएको छ। महाकाली बहुउद्देश्यीय यातायात कम्पनीका अध्यक्ष नवीन भट्टले महेन्द्रनगरबाट काठमाडौँ र पोखरातर्फ बस सेवा आजदेखि सुरु भएको जानकारी दिनुभएको छ।
उहाँका अनुसार वर्षाका कारण काठमाडौँतर्फका बस ४ दिन र सुदूरपश्चिमका पहाडी जिल्लातर्फ ३ दिन बन्द थिए। नदीको सतह अझै सामान्य नभएकाले तटीय बस्तीका बासिन्दालाई सतर्क रहन र खोलानालातिर नजान प्रशासनले आग्रह गरेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


