जलवायु कार्यक्रमका लागि परराष्ट्रमन्त्री फिजी र टुभालु जाँदै

परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी प्रि–कोप लिडर्स इभेन्टमा भाग लिन शनिबार, असोज १७ गते फिजी जाँदै हुनुहुन्छ। फिजी र टुभालुमा असोज १९ र २० गते हुने कार्यक्रममा उहाँको नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुनेछ। मन्त्री खनालले असोज २० गते नेताहरूको पूर्ण सत्रलाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले बिहीबार जारी विज्ञप्तिमा जनाएको छ।
त्यसअघि उहाँ पलाउका राष्ट्रपति तथा अस्ट्रेलिया र फिजीका प्रधानमन्त्रीसँगै सञ्चारकर्मीसँगको संयुक्त प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनुहुनेछ। नोभेम्बर ९ देखि टर्कीमा सुरु हुने कोप–३१ सम्मेलनअघि त्यसको तयारीका रूपमा प्रि–कोप आयोजना हुँदै छ। कोप सम्मेलनमा छलफल हुने जलवायु वित्त, हानि तथा क्षति र कार्बन उत्सर्जन कटौतीजस्ता जटिल विषय प्रायः प्रि–कोपमै टुंगो लगाउने गरिन्छ।
यस मञ्चमा नेपालको सहभागिताले जलवायु परिवर्तनको असर, जलवायु न्याय र हिमाली मुलुकका सरोकार अन्तर्राष्ट्रिय स्तरमा उठाउन सघाउने मन्त्रालयको अपेक्षा छ। फिजी र टुभालुको कार्यक्रमपछि मन्त्री खनाल अस्ट्रेलिया जानुहुनेछ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


