जबरालाई भेट्न पुगेको मानव अधिकार आयोगको टोली प्रहरी कार्यालयको गेटबाटै फर्कियो

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अवस्था बुझ्न पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोली प्रहरीले प्रवेश नदिएपछि आइतबार गेटबाटै फर्किएको छ। आयोगका सदस्य मनोज दुवाडीसहितको तीन सदस्यीय टोली टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेको थियो। टोलीले कार्यालयको गेटमा करिब ४५ मिनेट पर्खिए पनि भित्र जाने अनुमति पाएन।
आयोगका प्रवक्ता टीकाराम पोखरेलका अनुसार टोली जबराको स्थिति र सुरक्षाबारे जानकारी लिन गएको थियो। आयोगका सचिव मुरारीप्रसाद खरेलले कुनै पनि हिरासतमा जुनसुकै बेला पुगेर बुझ्ने अधिकार संविधान र कानुनले आयोगलाई दिएको बताउनुभएको छ। प्रवेश रोक्नुको कारण सोध्दासमेत नबताइएको उहाँको भनाइ छ।
नियन्त्रणका क्रममा जबरालाई एसएसपी सन्तोष खड्काको कार्यकक्षमा राखिएको थियो। प्रहरीले उहाँलाई सुरक्षा खतराका कारण शनिबार मध्यरात महाराजगञ्जस्थित निवासबाट कार्यालय ल्याइएको जनाएको थियो। निवासबाट लैजाने तरिका र कार्यालयमा राख्ने कानुनी आधारमाथि कानुनका जानकारहरूले प्रश्न उठाएका छन्।
पछि आइतबार दिउँसो जबरालाई परिवारको जिम्मा लगाइएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


