११ असोज २०८३ English
English

मध्यरातमा नियन्त्रणमा लिइएका पूर्वप्रधानन्यायाधीश जबरा करिब ११ घण्टापछि परिवारको जिम्मा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
मध्यरातमा नियन्त्रणमा लिइएका पूर्वप्रधानन्यायाधीश जबरा करिब ११ घण्टापछि परिवारको जिम्मा

YouTube मा सब्स्क्राइब

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रहरी नियन्त्रणबाट मुक्त भएर आइतबार घर फर्कनुभएको छ। शनिबार मध्यरात महाराजगञ्जस्थित निवासबाट लगिएका उहाँलाई करिब ११ घण्टापछि आइतबार दिउँसो परिवारको जिम्मा लगाइएको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीले उहाँलाई परिवारलाई सुम्पिएको जानकारी दिनुभएको छ।

टेकुस्थित सो कार्यालयमा जबरालाई कार्यालय प्रमुख एसएसपी सन्तोष खड्काको कार्यकक्षमा राखिएको थियो। एसएसपी खड्काले सुरक्षा खतराको सूचना आएपछि उहाँलाई कार्यालय ल्याइएको र यो पक्राउ नभएको दाबी गर्नुभएको छ। तर खतरा के थियो र कसबाट थियो भन्ने विवरण प्रहरीले सार्वजनिक गरेको छैन।

उहाँलाई भेट्न टेकु पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई भने प्रहरीले भित्र जान दिएको थिएन। नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता डा. वीरेन्द्रप्रसाद मिश्रलगायत कानुन व्यवसायीले नियन्त्रणको प्रक्रियामाथि प्रश्न उठाएका छन्।

सुरक्षा खतरा भए सुरक्षा बढाउन सकिने तर व्यक्तिलाई नै नियन्त्रणमा लिन स्पष्ट कानुनी आधार चाहिने उनीहरूको भनाइ छ। सरकारले भने नियन्त्रणको कारणबारे औपचारिक रूपमा केही खुलाएको छैन। प्रहरीका अनुसार जबरा आफैंले घरमै सुरक्षित हुने बताएपछि उहाँलाई निवासमै पुर्‍याइएको छ।

अब उहाँको निवासमा थप सुरक्षा प्रबन्ध गरिएको प्रहरीले जनाएको छ।

स्रोत

सम्बन्धित समाचार